२१ कार्तिक २०८३, शनिबार

सिंहदरबारमा शीर्ष नेताहरुको बैठक, सात प्रदेशमा सहमति !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Meeing-4partyकाठमाडौँ, ४ भदौ । संविधानसभाको संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको शीर्ष नेता सम्मिलित विशेष समितिको आज बसेको बैठकमा संविधानको विधेयकलाई सहमतिका साथ अघि बढाउन छलफल भएको छ ।

प्रादेशिक सीमाङ्कन लगायतका विषयमा जारी छलफल टुङ्ग्याएर संविधानको विधेयकलाई सहमतिका साथ अघि बढाउन बिहानैदेखि सिंहदरबारमा समितिको बैठक बसिरहेको छ ।

संविधानको परिमार्जित मस्यौदासहितको विधेयक तयारीका क्रममा मस्यौदा समितिलाई संविधानसभाले यही भदौ १ गते थपेको चार दिनको समय आज सकिँदै छ ।

सिंहदरबारमा जारी बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानको विधेयक सहमतिका साथ अघि बढाउन छलफल भइरहेको जानकारी गराउनुभयो । उहाँका अनुसार मस्यौदा समितिबाट संविधानको विधेयक सहमतिका साथ संविधानसभामा लगिने छ ।

संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले आजै मस्यौदा समितिले संविधानको विधेयक संविधानसभामा पेश गर्ने जानकारी दिनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रदेशको सीमाङ्कनको विवाद अन्त्य गर्न विशेष समितिमा छलफल भए पनि त्यसको टुङ्गो लागिनसकेको बताउनुभयो । उहाँले भन्नुभयो-‘सात प्रदेशको सहमति नजिक पुगेका छौं, निर्णय हुन बाँकी छ, सम्भवत आजै टुङ्गो लाग्छ ।’

उहाँका अनुसार कर्णालीलगायत मध्यपश्चिमका जिल्लाहरुलाई समेटेर अलग्गै प्रदेश बनाउनेबारे दलहरुको छलफल सहमति नजिक पुगेको हो । दलहरु सात प्रदेशकै सहमति नजिक पुगेको नेता रावलको भनाई छ ।

यसअघि प्रधानमन्त्री सुशील कोइराला मध्यपश्चिमाञ्चल टुक्र्याउने गरी एमाओवादीले सात प्रदेशको प्रस्ताव गरेपछि रिसाएका थिए । तर, अब मध्यपश्चिमाञ्चललाई नटुक्र्याई एकै प्रदेश बनाउने गरी छलफल चलाएपछि दलहरुबीच सात प्रदेशको कुरा मिलेको बैठक स्रोतले जनायो । यसअघि कर्णालीलाई सुदूरपश्‍चिममा गाभेकोमा स्थानीयबाट चर्को विरोध हुँदै आएको छ । त्यसैगरी मध्यपश्‍चिमलाई टुक्राएर दुईवटा प्रदेशमा मिसाएकोमा पनि आन्दोलन भइरहेको छ ।

यस्तै, बैठकमा मस्यौदा समितिले आफ्नो काम सकेका कारण विधेयक अघि बढाउने सम्बन्धमा पनि छलफल भएको उहाँले बताउनुभयो । रासस