काठमाडौं, ४ भदौ । व्यवस्थापिका संसदको आजको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री वामदेव गौतमले मधेसी मोर्चालाई आतंकवादी संगठनसँग तुलना गरेका छन् ।
गृहमन्त्री गौतमले मधेसी मोर्चाले जनतालाई आन्दोलनमा मृत्यु भएबापत ५० लाख रुपैयाँ दिने भनेर गरेको घोषणा अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुको शैली भन्दा पनि खतरनाक भएको बताएका हुन् ।
मधेसी मोर्चाको ५० लाख घोषणाबारे सरकारको तर्फबाट संसदलाई जानकारी दिँदै गृहमन्त्री गौतमले यसबारे सरकारको गम्भीर ध्यानाकर्षण भएको र संसदले पनि आवश्यक कारवाही गर्नुपर्ने बताए ।
गृहमन्त्री गौतमले भने, ‘आम जनतालाई आन्दोलनमा लगाएर मरे ५० लाख दिन्छौं भन्नु कुनै पनि सभ्य लोकतान्त्रिक राज्यको कल्पना भन्दा बाहिरको कुरा हो । यस्तो आह्वान कतिपय आतंककारी संगठनबाट हुने गरेको मात्र सुनिएको थियो ।’
गौतमले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सो निर्णयको विज्ञप्ति समेत संसदलाई बुझाएका छन् । यसअघि संसदमा सभासदहरुले यस प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले सत्य तथ्य जानकारी दिन सरकारलाई आदेश दिएका थिए ।















प्रतिक्रिया