काठमाडौं, ३ भदौ । भदौ दोस्रो साताभित्र नयाँ संविधानमा सिमाङ्कनसहितको छ प्रदेश समेटेर संविधान जारी गर्ने तयारी गरिरहेका प्रमुख दलहरूबीच फेरि सिमानामा र संख्यामा विवाद देखिएको छ ।
छ प्रदेशको सिमाङ्कनमा विभिन्न समूह र दलहरूले असन्तुष्टि जनाएपछि छ बाट बढाएर सात प्रदेश बनाउन पहल भइरहेको नेताहरूले बताएका छन् ।
एकीकृत माओवादीले अघि सारेको पुरानो सिमाङ्कनसहितको संघीय प्रदेशका विषयमा दलहरूले छलफल चलाएका हुन् ।
तर कांग्रेसले छ प्रदेशमा सहमति भइसकेपछि फेरि सात प्रदेश बनाउन आएको नयाँ प्रस्तावको विरोध गरेको छ ।
यदपि कांग्रेसका नेता शेरबहादुर देउवा भने सहमति हुन्छ र विरोधहरू हुँदैन भने सात प्रदेश बनाउन तयार देखिएको स्रोतको दाबी छ ।
यसैबीच, आन्तरिक छलफलपछि आज बस्ने प्रमुख दलका शीर्ष नेताहरूको बैठकले सिमाङ्कनसहितको छ वा सात प्रदेशको नयाँ संविधान जारी गर्ने विषयमा आजै सहमति गर्ने बुझिएको छ । बैठक सिंहदरबारमा बस्ने तयारी छ ।
कांग्रेसले धेरै प्रदेश बनाउँदा राष्ट्रलाई आर्थिक भार पर्ने र संघीय राज्यहरू कमजोर हुनेभन्दै सकेसम्म थोरै संघीय राज्य बनाउन दवाव दिँदै आएको छ ।












प्रतिक्रिया