५ कार्तिक २०८३, बिहिबार

नामै नसुनिएको सेन्ट लुसिया देशबाट अमेरिका प्रवेश गर्न सजिलो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

caribbean-st-lucia-mapकाठमाडौं, ३ भदौ । मानव तस्करीमा संलग्न समूहहरूले नेपाललाई अनएराइभल भिसा दिने देशहरूलाई ट्रान्जिट बनाई मानव तस्करी गर्न थालेका छन् ।

क्यारेबियन तथा अफ्रिकी देशहरूमा भिजिट भिसामार्फत मानव तस्करी धन्दा भइरहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

क्यारेबियन मुलुक सेन्ट लुसियाको नाम धेरै नेपालीलाई थाहा नहुन सक्छ । तर, त्यो देशमा घुम्ने नाममा भिजिट भिसामा जाने नेपालीको संख्या ठूलो छ ।

भिजिट भिसामा घुम्न जाने भए पनि नेपालीले अमेरिका छिर्न सेन्ट लुसियालाई ट्रान्जिट देशका रूपमा प्रयोग गर्ने गरेका छन् ।

सेन्ट लुसियामा जान पहिले नै भिसा लिनुपर्दैन । सोही देशमा एयरपोर्ट तथा सीमामा नेपालीले भिसा लिन सक्छन् ।

मानव तस्कर गिरोहले बारम्बार अमेरिका छिर्ने ट्रान्जिट देशका रूपमा सेन्ट लुसियालाई प्रयोग गर्न थालेपछि वैदेशिक रोजगार विभागले सो देशमा अनएराइभल भिसामा नेपाली नपठाउन केही दिनअघि गृह मन्त्रालयमा पत्राचार गरेको छ ।

भिजिट भिसामा सेन्ट लुसिया पुगेका धेरै नेपाली समस्यामा परेको भन्दै उद्धारका लागि निवेदन बढ्न थालेपछि विभागले मन्त्रालयलाई पत्राचार गरेको हो ।

मानव तस्करहरूले आसपासका देशबाट अवैध रूपमा भूमार्गबाट नेपालीलाई अमेरिका पठाउने गरेका छन् । अमेरिका पुगेपछि नेपाली सबै कागजपत्र फालेर शरणार्थीको रूपमा बस्ने गरेका छन् ।

वैशाखको पहिलो साता क्यारेबियन मुलुक ग्रेनेडामा सात नेपाली पक्राउ परेका थिए ।

उनीहरू सेन्ट लुसियाबाट डुंगा चढेर ग्रेनेडा पुगेका थिए । ग्रेनेडाको बाटो भएर उनीहरू अमेरिका जाने योजनामा थिए ।

मानव तस्करीमा संलग्न धेरै समूहले सजिलै भिसा पाइने देशहरूलाई ट्रान्जिट बनाएर तस्करी गर्दै आएका छन् ।

नेपालले अनएराइभल भिसा पाउने क्यारेबियन तथा अफ्रिकी देशहरूमा भिजिट भिसामार्फत मानव तस्करीको धन्दा भइरहेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए ।

‘अमेरिका र अफ्रिका छिर्न अनएराइभल भिसा पाउने गरिब देशहरूलाई ट्रान्जिट बनाइएका घटना धेरै छन्,’ महानिर्देशक न्यौपानेले भने, ‘खाडीमा जस्तै भिजिट भिसामा अन्य देशमा पनि कडाइ गर्नुपर्ने अवस्था देखिएको छ ।’