९ कार्तिक २०८३, सोमबार

सप्तरीको भारदहमा आन्दोलनकारीद्धारा प्रहरीबिटमा आगजनी, अवस्था तनावग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saptari_districसप्तरी, २ भदौ । सीमाङ्कनको विरोधमा उत्रिएको संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन आमहड्तालका क्रममा मङ्गलबार सप्तरीको भारदहमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि मङ्गलबार लगाइएको कफ्र्यु आज बिहान खुल्नासाथ भारदहमा पुनः प्रदर्शन सुरु भएको छ ।

प्रदर्शनका क्रममा आन्दोलनकारीले केही समयअघि सप्तरीको भारदह–१ मा रहेको स्थायी प्रहरी बिटमा आगो लगाएका छन् । प्रदर्शनकारीले लगाएको आगोबाट प्रहरी बिटमा क्षति पुगेको बताइएको छ ।

यस्तै, प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गमा गुडीरहेको स ४ प ७९३८ नम्बरको पल्सर मोटरसाइकलमा समेत आगजनी गरेका छन् । आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

हिजो प्रहरी र प्रदर्शनकारीबीचको झडपमा स्थानीय ३५ वर्षीया राजिव राउतको मृत्यु भएको थियो । मृत्युपछि स्थानीय प्रशासनले मङ्गलबार बेलुका ४ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि कफ्र्यु लगाएको थियो ।

यस्तै, सप्तरीको सदरमुकाम राजविराजमा समेत प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीले ‘प्रहरी दमन बन्द गर’ जस्ता नारासहित प्रदर्शनमा उत्रिएका छन् । रासस