काठमाडौँ, २ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर सांंसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याका बारेमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकको प्रारम्भमा सांसद कञ्चनचन्द्र वादेश्रेष्ठले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका कारण स्थानीयवासी प्रभावित भए पनि सरकारले समस्या समाधानमा ध्यान नदिएको बताउनुभयो ।
सांसद मोहन बानियाँले नयाँ संविधान निर्माणका क्रममा विभिन्न जिल्लामा आन्दोलन भइरहेको उल्ल्ेख गर्दै कर्णाली अञ्चलमा जारी असन्तुष्टिका कारण जनजीवन प्रभावित भएको, प्रहरीको गोली लागी दर्जनाँै आन्दोलनकारी घाइते भएको, उपचारको व्यवस्था नभएको तर समस्या समाधानका लागि शीर्ष नेताले ध्यान नदिएको धारणा राख्नुभयो ।
उहाँले कर्णाली प्रदेशलाई विशेष स्वायत्त प्रदेश बनाउनुपर्ने वा केन्द्र शासित प्रदेशका रुपमा विकास गर्नुपर्नेतर्फ प्रमुख राजनीतिक दलले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सांसद मानबहादुर थारुले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायले गरिरहेको आन्दोलनलाई सरकारले दमन गरेको, शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकार हनन गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
सांसद एकनाथ ढकालले भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा प्रभावकारी रुपमा राहत पुग्न नसकेको, मनसुनका कारण सयौँ बस्ती जोखिममा रहेको सन्दर्भमा संविधान निर्माणका क्रममा जनताले गरेको शान्तिपूर्ण आन्दोलन माथि सरकारले दमन गरेको भन्दै सरकारले शान्ति सुरक्षा प्रभावकारी बनाउन र आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही गर्न माग गर्नुभयो ।
सांसद एकवाल अहमद साहले नवलपरासीमा शान्तिपूर्ण प्रदर्शन माथि सरकारले अनावश्यक दमन गरेको भए पनि गृहमन्त्रीले सदनलाई गराउनुभएको जानकारी यथार्थभन्दा बाहिर रहेको तर्क गर्नुभयो ।
सांसद सकलदेव सुतिहारले संविधान निर्माणको विषयलाई लिएर सप्तरीमा स्थानीयवासीले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरिएको भन्दै आगामी दिनमा त्यस्तो क्रियाकलाप नगर्न सरकारको ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन आयोग गठन गर्न माग गर्नुभयो ।
सांसद मोहनसिंह राठौरले संविधान निर्माणका क्रममा मुलुकका विभिन्न स्थानमा सामाजिक सद्भाव बिथोल्ने गरी प्रदर्शन गरिएकोमा आपत्ति प्रकट गर्नुभयो ।
सांसद उमेशकुमार यादवले सप्तरीको भारदहमा प्रहरीले नै शान्तिपूर्ण प्रदर्शनलाई उत्तेजित बनाएर दमन गरेकोमा यथार्थतालाई गृहमन्त्रीको जवाफमा नसमेटिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । रासस















प्रतिक्रिया