२१ कार्तिक २०८३, शनिबार

आन्दोलनकारीले प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि गोली चलाउनु पर्‍यो : गृहमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev-Gautamकाठमाडौँ, २ भदौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले यही भदौ १ गते सप्तरीको भारदहस्थित प्रहरी कार्यालयमा आन्दोलनकारीले आक्रमण गरी सुरक्षाकर्मीका सञ्चारसेट र हतियारसमेत खोस्ने प्रयास गरेपछि बाध्य भई आत्मरक्षाका लागि गोली चलाउँदा उपचारका क्रममा एकजनाको मृत्यु भएको स्पष्ट गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा नवलपरासी र भारदहलगायत मुलुकका विभिन्न स्थानमा भएका आन्दोलन र त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट भएको प्रयासबारे जानकारी दिँदै उहाँले त्यस्तो प्रष्टीकरण दिनुभएको हो ।

भारदहमा भेला भएका करिब सात सयजना आन्दोलनकारीलाई प्रहरीले बारम्बार शान्ति सुरक्षामा खलल हुन नदिन आग्रह गरेका तर उनीहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपछि बाध्य भई स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको बताउनुभयो ।

सुरक्षाकर्मीका सवारी साधन तोडफोड हुन थालेपछि सामान्य लाठी र अश्रुग्यास प्रहार गरी परिस्थिति काबुमा लिन हरसम्भव प्रयास गरिएको तर प्रहरीको हतियार नै खोस्ने दुष्प्रयास भएपछि गोली चलाउँदा घाइते भएका २४ वर्षीय राजीव राउतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उहाँले बताउनुभयो ।

आन्दोलनकारीको आक्रमणबाट पाँचजना सुरक्षाकर्मी पनि घाइते भएका जानकारी गृहमन्त्रीले दिनुभयो । स्थिति नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गरिएको र अहिले त्यहाँको सुरक्षा स्थिति सामान्य बन्दै गएको बताउनुभयो । कपिलवस्तुस्थित एमाले कार्यालय र घरेलु उद्योग कार्यालयमा आगजनीको प्रयास भएको जानकारी पनि उहाँले दिनुभयो । रासस