५ कार्तिक २०८३, बिहिबार

राज्य व्यवस्था समिति नालायक भयो, अमरेशको अडियोलाई लिएर हल्लीखल्ली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिलबहादुर घर्ती
दिलबहादुर घर्ती

काडमाडौं, २ भदौ । संसद्को राज्य व्यवस्था समितिको मंगलबार बिहान बसेको बैठकका प्रमुख दुई एजेन्डा थिए ।

तर, समितिका सभासद्हरूले आफ्नै समितिको निष्क्रिय भएको एजेन्डालाई प्रमुख बनाएर सभापतिको आलोचना गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

संंघीयतामा सीमांकन विवादपछि उत्पन्न शान्तिसुरक्षाको अवस्था र सशस्त्र प्रहरीको नियमावली विवादबारे छलफल गर्ने बैठकको एजेन्डा थियो ।

तर, सभासद्हरूले समिति सुस्त भएको भन्दै सभापति दिलबहादुर घर्तीको आलोचना गरेका हुन् । घर्ती कांग्रेसका सभासद् हुन् ।

बैठकमा कांग्रेसकै सभासद्हरूले समेत संसद्को महत्त्वपूर्ण समितिलाई नियोजित रूपमा निष्क्रिय बनाएको आशंका गरेका छन् ।

बैठकको एजेन्डामा बोल्नुअघि अधिकांश सभासद्ले समिति सुस्त भएको, बैठकसमेत ढिलो बस्ने गरेको भन्दै आक्रोश पोखेका थिए ।

‘हाम्रो समिति किन नालायक भयो, सभापतिज्यू,’ एमाले सभासद् विशाल भट्टराईले भने, ‘सभापतिलाई कतैबाट दबाब आएको हो रु प्रस्ट पार्नुपर्‍यो ।’

अघिल्लोपटक रामनाथ ढकाल सभापति हुँदा राज्य व्यवस्था समिति सबैभन्दा सक्रिय रहेको उदाहरण दिँदै उनले समितिलाई सशक्त र प्रभावकारी बनाउन माग गरे ।

कांग्रेसकै सभासद् अर्जुन जोशीले सभापति घर्तीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका थिए । ‘समितिको निष्क्रियताको कारण हाम्रा निर्णयहरू नै कार्यान्वयन नगर्ने अवस्था भइसक्यो,’ जोशीले भने, ‘समितिको निर्णयको पनि केही काम छैन, सबै अवज्ञा भइरहेको छ ।’ कांग्रेसकै अर्की सभासद् आरजु देउवाले पनि सभापतिको भूमिकाप्रति असन्तुष्टि जनाइन् ।

‘निकै एक्साइटिङ समिति होला भनेर सदस्य बनेकी थिएँ,’ उनले भनिन्, ‘तर, समिति सुस्त हुँदा निराश भइएको छ ।’ सभापतिको आलोचना गरेर बैठक सुरु भएको थियो ।

सभापति घर्तीले एजेन्डा प्रस्तुत गर्नासाथ बोलेका एमाले सभासद् यज्ञराज सुनुवारले समिति निष्क्रिय हुनुको कारण मागेका थिए ।

झन्डै दुई महिनापछि मात्र समितिको बैठक बोलाइएको भन्दै उनले सभापतिको आलोचना गरेका थिए । एमालेका अर्का सभासद् गंगालाल तुलाधारले निष्क्रियताको कारण समितिको गरिमा घटेको बताए ।

राष्ट्रिय जनमोर्चाका सभासद् चित्रबहादुर केसीले पनि लामो समयसम्म बैठक नबोलाइएकोमा असन्तुष्टि जनाए । उनले प्रश्न गरे, ‘राज्य व्यवस्था समितिलाई मिनी–संसद्का रूपमा चिनिने गरेको छ, तर यति लामो समय बैठक किन बोलाइएन ?’

अर्का सभासद् सन्तकुमार दराई, अमरेशकुमार सिंहलगायतले पनि समिति निष्क्रिय भएको तथा समितिका निर्देशन पालना नभएको भन्दै सभापतिको ध्यानाकर्षण गराएका थिए ।

सभापतिकै कारण समिति कमजोर हुँदै गएको भन्दै सभासद्हरूले आलोचना गरेका थिए । प्रहरी, सेना र प्रशासनको अनुगमन तथा छानबिन गर्ने जिम्मेवारी भएकाले राज्य व्यवस्था समितिलाई सबैभन्दा शक्तिशाली संसदीय समिति मानिन्छ ।

कांग्रेसकै सभासद् ईश्वरी न्यौपानेले विदेशीको निर्देशनमा केही सभासद्ले जातीय सद्भाव भड्काउने र अजराक गतिविधि गरेको आरोप लगाइन् ।

राष्ट्रिय जनमोर्चाका सभासद् चित्रबहादुर केसीले गाँजियाबादमा चुनाव लडेकाहरू नेपालमा सभासद् हुँदा देशमा अहिले समस्या भएको बताएका थिए ।

समितिका सदस्यसमेत रहेका सभासद् अमरेश सिंहले भने आफ्नो अडियो मात्र नभई आन्दोलनमा उत्रिएकामाथि भएको दमनको पनि छानबिन हुनुपर्ने माग गरेका थिए ।

आफू पक्राउ पर्न तयार रहेको भन्दै उनले पक्रेर थुन्न गृहमन्त्री वामदेव गौतमलाई चुनौतीसमेत दिए । बैठकमा सभासद् आरजु देउवाले भने सिंहको पक्षमा बोल्दै अडियो छानबिनको अर्थ नभएको बताएकी थिइन् ।