काडमाडौं, २ भदौ । नेपालमा क्यान्सर रोगका बिरामी पुरुषभन्दा महिला धेरै भेटिएका छन् । हाल ५६ हजार १३ जना क्यान्सरका बिरामी उपचाररत छन् ।
भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलले विश्व स्वास्थ्य संगठनको सहयोगमा नौ वर्ष लगाएर गरेको अध्ययनमा क्यान्सरका बिरामी पुरुषभन्दा महिला बढी भेटिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
अध्ययनअनुसार उपचाररतमध्ये पुरुष २६ हजार एक सय आठ (४६.६ प्रतिशत) र महिला २९ हजार नौ सय पाँचजना (५३.४ प्रतिशत) छन् ।
भरतपुर क्यान्सर अस्पतालका क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख किशोरकुमार प्रधानांगले विकसित देशमा पुरुषमा बढी देखिए पनि नेपालमा महिला नै बढी भेटिएको बताए ।
महिलामा कम उमेरमै बिहे गर्ने तथा धेरै बच्चा जन्माउँदा पाठेघरको मुखको क्यान्सर हुने गरेको उनको भनाइ छ । जंकफुड, चिल्लो पदार्थको बढी सेवनले स्तन क्यान्सर देखिने गरेको पाइएको पनि प्रधानांगले बताए ।
पुरुषमा सबैभन्दा बढी देखिने फोक्सोको क्यान्सरमा धूम्रपान नै प्रमुख कारण भएको उनको भनाइ छ । यसबाहेक मुखको क्यान्सर, घाँटीको क्यान्सर, मिर्गौलाको क्यान्सर, पिसाबथैलीको क्यान्सर बढी देखिनुमा सुर्तीजन्य पदार्थ सेवन प्रमुख कारक रहेको पाइएको छ ।
अध्ययनबाट मुख्य रूपमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आमाशयको क्यान्सर, रगतको क्यान्सर, घाँटीको क्यान्सर, दिसा गर्ने नलीको क्यान्सर र पिसाब थैलीको क्यान्सर देखिएको छ ।
‘विकसित देशका पुरुषमा फोक्सो, आमाशय, प्रोस्टेट क्यान्सर र महिलामा स्तन, पाठेघरको मुख, कोलोनररेक्टम क्यान्सर बढी देखिन्छ,’ प्रधानांगले भने, ‘हाम्रो अध्ययनले पनि पुरुषमा फोक्सो र आमाशयको र महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर बढी भएको देखाएको छ ।’
भरतपुर क्यान्सर अस्पतालले विश्व स्वास्थ्य संगठनको सहयोगमा सन् २००३ देखि २०१२ सम्म नेपालका क्यान्सर उपचार हुने सात अस्पतालमा अध्ययन गरेको थियो ।
भरतपुर क्यान्सर अस्पतालसहित काठमाडौंको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, धरानको बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स र पोखराको मणिपाल मेडिकल कलेजमा उपचाररत बिरामीको अध्ययन गरिएको थियो ।
नेपालमा कति क्यान्सर रोगीहरू छन् र बर्सेनि कतिको मृत्यु हुने गर्छ भन्ने आधिकारिक तथ्यांक भने कतै छैन । तर, विश्व स्वास्थ्य संगठनले वार्षिक ३५ देखि ४० हजार नयाँ क्यान्सर रोगी भेटिन सक्ने अनुमान गरेको छ ।















प्रतिक्रिया