लहान, १ भदौ । प्रदर्शनका क्रममा गोली लागेर सप्तरीको भारदहमा एकजनाको मृत्यु भएपछि थप झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले आज दिउँसो ४ बजेदेखि भारदह क्षेत्रमा कर्फ्यु जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले भारदह क्षेत्रको चार किल्ला क्षेत्रमा आज दिउँसो ४ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु जारी गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिनुभयो ।
भारदहको पूर्वमा कङ्कालनी मन्दिरदेखि ५०० मिटर, पश्चिममा भारदह टेम्पु स्ट्यान्डदेखि ५०० मिटर, उत्तरमा पोर्ताहाको गाविस भवन हटिया लाग्ने स्थानसम्म र दक्षिणमा सखरदही नहरपुलदेखि ३०० मिटरसम्मको क्षेत्रमा कर्फ्यु जारी गरिएको प्रजिअ यादवले बताउनुभयो ।
कर्फ्यु जारी भएको अवधिभर ती इलाकामा घरबाहिर ननिस्कन, कुनै सवारीसाधन नचलाउन र बाहिर हिँड्डुल नगर्न स्थानीय प्रशासनले सबैसँग आग्रह गरेको छ । प्रजिअ यादवले सो अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन चलाउनु परेमा वा घरबाहिर निस्कनु परेमा सुरक्षा निकायसँग अनुमतिपत्र लिएर मात्र हिँड्डुल गर्नसमेत आग्रह गर्नुभएको छ । रासस















प्रतिक्रिया