३० आश्विन २०८३, शुक्रबार

अब के हुन्छ एमाओवादीमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nirmal-bhattarai

पहिलो संविधानसभाको चुनावमा नेपाली काँग्रेस र नेकपा (एमाले) लाई संविधानसभामा सय भन्दा बढी सिटको अन्तरले पछि पार्ने एनेकपा (माओवादी) दोस्रो संविधानसभाको निर्वाचनमा नराम्ररी खुम्चिएपछि एकपछि अर्को संकटमा फस्दै गएको छ । त्यसो त डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि छुट्टै विचार समूह निर्माण गरी मोहन वैद्य किरणले पार्टी विभाजन गरेका थिए भने त्यसअघि नै सानातिना विभाजन, विखण्डन र पलायन जारी रह्यो । अझै अन्तरपार्टी संघर्ष उत्कर्षमै देखिन्छ । डा. बाबुराम भट्टराई विचार समूह देशका विभिन्न जिल्लाहरुमा समानान्तर गतिविधि गरिरहेको छ । त्यो डा. भट्टराईको ईच्छा भन्दा पनि विगतमा कार्यकर्तामाथि गरिएको अन्यायका कारण भएको हो । तत्कालीन माओबादी पार्टी युद्धमै भएको बेला लोकतान्त्रिक गणतन्त्रको लाईन पास गराएर बाह्रबुँदे सहमति गराउन महत्वपूर्ण भूमिका खेलेका डा भट्टराईले पार्टीलाई नयाँ शक्तिमा रुपान्तरण गर्ने र त्यसको लागि वैचारिक, सैद्धान्तिक, सांगठनिक र शैलीगत परिवर्तनका लागि प्रचण्डलाई औपचारिक दस्तावेज बूझाइसकेको अवस्था छ । पार्टीलाई थप संकटबाट जोगाउन निम्न उपाय अवलम्बन गर्नु वाञ्छनीय हुन्छ:

१. विचारमा संयोजन

दीर्घकालीन जनयुद्धको माध्यमद्धारा सत्ता कब्जा गर्ने कार्यनीतिले आंशिक सफलतामात्र प्राप्त गरेको र संसदीय बहूदलीय व्यवस्थालाई अंगीकार गरेको मस्यौदा संविधानमा सही छाप गरिसकेको अवस्थामा जनमुखी कार्यशैलीका साथ समाजको अग्रगाामी रुपान्तरण गर्ने वैचारिक व्याख्या र अवलम्बन हुनु जरुरी छ । विगतको जनयुद्धसँग जोडिएका सबल र दुर्बल पक्षहरुको सुत्रीकरण गरेर जनतामा नयाँ परिवेशका साथ पुग्नु आवश्यक छ । संसदीय चुनावप्रति मोह भंग भएका र युद्धप्रति नै मोह भएका अधिकांश कार्यकर्ता विप्लवतिर लागिसकेको अवस्था छ । गणतन्त्रात्मक संसदीय राजनीति गर्न एमाओबादी नेता कार्यकर्ता अब लजाउनु परेन । विगत दश वर्षको एमाओवादी राजनीति हेर्दा युद्ध गर्न सक्ने पार्टीले राजनीति गर्न नजानेको प्रष्ट देख्न सकिन्छ । प्रष्ट छ, युद्ध लड्ने विज्ञान र चुनाव लड्ने विज्ञान बिल्कुल भिन्न छन् । युद्ध लड्ने विज्ञानको प्रयोग गरेर चुनाव लड्न खोज्दा यो समस्या पैदा भएको हो । चुनाव लड्ने विज्ञानको विकास गर्न अन्तरपार्टी जनवादको परिपालन प्रथम शर्त हो । विगतको जस्तो कमिसार, कमाण्डर र उपकमाण्डर तोकेर अब पार्टी चल्छ भन्ने कल्पना नगर्दा हुन्छ ।

२. विधानको कार्यान्वयन

विराटनगर सम्मेलनमा जानु अघि एमाओवादी पार्टी हेडक्वार्टरले एउटा विधान जारी गरेको थियो । विराटनगर सम्मेलनमा त्यो विधानका कुनै धारा उपधाराको प्रयोग गरिएन । विराटनगर सम्मेलनपश्चात बनेको केन्द्रीय समितिले अध्यक्ष बाहेक अरु पदाधिकारीमा “सबै उम्मेदवार सबै मतदाता” को आधारमा निर्वाचन गरियो, जुन विधानको कुनै धारामा उल्लेख थिएन । विधानमा उल्लेख गरिएका अधिकांश विषयवस्तुहरु शीर्ष तहदेखि तृणमूल तहसम्म लागु भएको छैन । आफूलाई विधानभन्दा माथि राख्न चाहने नेतृत्वको कार्यशैली नै पार्टी संकटको सबभन्दा प्रमुख कारण हो । कुनै पार्टी अमुक व्यक्तिले मात्र चलाउन सक्दैन, अन्तरपार्टी प्रशासनको निश्चित पद्धतिले मात्र चलाउन सक्दछ । फेरि आजको विश्वमा कुनै व्यक्तिलाई केन्द्रविन्दूमा राखेर, व्यक्ति पुजा गरेर समाजको नेतृत्व हुन सक्दैन । नेतृत्वको अलौकिकीकरण गर्ने परिपाटीले केवल नकारात्मक परिणाम मात्र हात लाग्नेछ । देशका प्रमुख राजनीतिक पार्टीहरु काँग्रेस र एमालेमा प्रत्यक्ष कार्यकारी प्रमुख निर्वाचित हुने व्यवस्था छ । पार्टी सदस्यहरुले तहगत रुपमा निर्वाचित गरेर पठाएका प्रतिनिधिहरुले त्यस्तो कार्यकारी प्रमुख र अन्य पदाधिकारीहरुको चयन गर्ने व्यवस्था छ । लेनिनका पालादेखि कमिटीको बहुमत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कमिटीको नेता हुने प्रणाली नेपालका कम्युनिष्टहरुले छोडिसकेको अवस्थामा नेतृत्व चयनको वैज्ञानिक प्रणाली अविलम्ब विकास गर्न जरुरी छ ।

अन्तरपार्टी निर्वाचन प्रणालीको सुरुवात गर्न पार्टी सदस्यहरु (मतदाता नामावली) को विस्तृत विवरण केन्द्रदेखि जिल्लासम्म तयार पार्नुपर्ने हुन्छ । एमाओवादीका अधिकांश जिल्ला कमिटीहरुको अस्तव्यस्तताले त्यो अत्यन्त कठिन कार्य बन्न पुगेको छ । संगठन र पार्टी सदस्यताको बारेमा बढी चासो राख्ने पोष्टबहादुर बोगटीको देहावसानपछि पार्टी जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष पार्टी सदस्यता र पार्टी संगठन पूरै ओझेलमा परेको देखिन्छ । कार्यकर्ताको सहमति वा निर्बाचनबाट बन्ने नेतृत्वले मात्र अब एमाओवादीलाई बचाउन सक्दछ । अमूक नेताको टीका प्राप्त गरेर नेता बन्ने प्रचलन कायम रहेमा पार्टीलाई थप बरबादी हुनबाट कसैले जोगाउन सक्दैन । पार्टी संचालन भेडागोठालाले भेडा धपाएजस्तो होइन् । पार्टी अध्यक्ष प्रचण्डले संस्थागत निर्णय र पारित विधानको अधीनमा रहने शैलीको विकास नगरेसम्म अरु नेता कार्यकर्ता उक्त निर्णय र विधान मान्न बाध्य हुने छैनन् । संविधान र विधानमाथि बस्ने विगतको राजतन्त्रीय परम्परा एमाओवादी जस्तो पार्टीमा कति दिनसम्म टिकाइराख्ने ? साथै, नेतृत्वको हस्तान्तरण व्यक्तिले गर्ने नभई पद्धतिले गर्ने परिपटीको विकास हुनु अनिवार्य छ ।

३. शैलीगत परिवर्तन

जनयुद्ध र जनआन्दोलनको बलबाट राजतन्त्रको अन्त्य भएपछि एमाओवादी नेतृत्वमा राजतन्त्रको पुरानो हैसियत आपूmले प्राप्त गरेको जस्तो दम्भ देखा पर्यो । सम्पूर्ण सत्ता जितेको जस्तो घमण्ड नेता कार्यकर्तामा पैदा भएको कारणले आफूलाई भोट दिएर जिताउने २९ लाख जनतालाई कुनै वास्ता गरिएन । जनताको त के कुरा खाइनखाइ चुनावमा खट्ने कार्यकर्तालाई कुनै हेरविचार गरिएन । नेतामुखी कार्यकर्ताले संधै प्रश्रय पाइरहे । नेतृत्व शैलीमा देखिएको यो समस्याले पार्टीसँग जनता टाढिए र दोस्रो संविधानसभामा त्यसको दुस्परिणाम बेहोरनु पर्यो । नेताको मुख ताक्ने आम प्रवृत्तिलाई जनतातिर फर्किने बानीमा परिणतगर्न ढिलाई भएमा पार्टीको दुर्दशा दिन दुगुना रात चौगुना बढ्ने निश्चित छ ।

४. नेतृ्त्व परिर्वतन

पार्टीको नेतृत्व परिवर्तन दुई तीन शीर्ष नेताको कानेखुशी र सहमतिको विषय मात्र होइन । यो पार्टीका तमाम नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको भावनासंग समेत जोडिएको विषय हो । नेता पनि मानिस भएकोले निःसन्देह उसका सबल र दुर्बल दुबै पक्ष हुन्छन् । उदाहरणका लागि प्रचण्ड युद्ध कौशलमा माहिर नेता हुन् भने डा. भट्टराई प्राज्ञिक र प्राविधिक क्षेत्रका हस्ती हुन् । उनी राष्ट्र निर्माणको भिजन बोकेका नेता पनि हुन् । एकले अर्कोको विज्ञतामा प्रतिस्पर्धा गर्न सक्दैनन् । पुरानो सत्ताको ध्वंश भइसकेको र पुननिर्माणको चरण सुरु भएकोले आगामी दिनमा प्रचण्डको युद्धकौशल वा भट्टराईको प्राज्ञिक र प्राविधिक ज्ञान कुन बढी महत्वपूर्ण छ भन्ने कुराको छनोट विधिको विकास नगरी कार्यकर्तालाई बहस गर्ने अवसर नदिई गरिनु हुन्न । यस्ता विषयमा नेतृत्वले गम्भीर छलफल नगर्ने हो भने एमाओवादी पार्टी बचाउन प्रायः असम्भव छ ।