५ कार्तिक २०८३, बिहिबार

प्रहरी महानिरीक्षकका छोराविरुद्ध किन हत्या उजुरी दर्ता भएन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अनिमेष ठाकुर
अनिमेष ठाकुर

पोखरा, १ भदौ । मणिपाल हस्पिटलका प्रशिक्षार्थी डाक्टर अनिमेष ठाकुरको मृत्युपछि परिवारले दिएको उजुरी किन दर्ता नगरेको भनेर अदालतले प्रहरीसँग कारण मागेको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका छोरा डा आयुषको नाममा प्रहरीले किटानी जाहेरी लिन नमानेपछि ठाकुर परिवार अदालत गएको थियो ।

प्रहरी महानिरीक्षक अर्यालका छोरा आयुष र स्वास्थ्य मन्त्रालयका सहसचिव डा गरिबदास ठाकुरका छोरा अनिमेष सहपाठी र घनिष्ट मित्र थिए ।

उनीहरूकै मिल्ने साथी डा प्रतिसा बस्ने घरको छतबाट खसेर १९ असारमा अनिमेषको मृत्युपछि परिवारले अनुसन्धान गर्न माग गरिरहेको छ ।

तर, महानिरीक्षकका छोरा मुछिएको घटनामा प्रहरीले उजुरी नै लिन नमानेको डा ठाकुरको गुनासो छ ।

छोराको हत्या भएको हुनसक्ने भन्दै डा ठाकुरले जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीमा किटानी उजुरी दर्ता गराउन खोजेका थिए ।

तर, प्रहरीले उजुरी दर्ता गर्नुको साटो उल्टै धम्की दिएको उनको आरोप छ । उजुरी दर्ता किन नभएको भन्ने जवाफ दिन अदालतले विपक्षीका नाममा आदेश जारी गरेको छ ।

कुनै समयका असल साथी अनिमेष र प्रतिसाको सम्बन्ध पछिल्लो समय बिग्रिएको ठाकुर परिवारको भनाइ छ । त्यो राति फोनमा झगडा भएपछि अनिमेष प्रतिसाको कोठामा जाँदा त्यहाँ आयुष पनि थिए भन्ने प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सोही राति त्यही घरको छतबाट खसेर अनिमेषको मृत्यु भएको थियो । छोराको मृत्यु दुर्घटना मात्र होइन, हत्या नै हुन सक्छ भन्दै ठाकुर परिवारले आयुष र प्रतिसामाथि अनुसन्धान गर्न प्रहरीलाई आग्रह गर्दै आएको छ ।

घटनाको जानकारी आएपछि रातारात पोखरा पुगेका डा ठाकुरले २० असारमा नै प्रहरीमा निवेदन दर्ता गर्न खोजेका थिए ।

तर, उजुरी दर्ता नभएपछि उनी छोराको शव लिएर किरियाकर्मका लागि गाउँ महोत्तरी गएका थिए । किरियाकर्म सकेपछि ५ साउनमा उनले वकिलमार्फत किटानी जाहेरी दिन खोजेका थिए, तर प्रहरी र प्रशासनका दुवै कार्यालयले लिन मानेनन् ।