काठमाडौं, ३२ साउन । मुख्य विवादित विषयमा टुङ्गो लगाउन सोमबार बसेको उच्चस्तरीय राजनीतिक विशेष समितिले केही विषयमा सहमति गरेको छ ।
सोमबार दिनभर सिंहदरबारमा बसको शीर्ष नेताहरु सम्मिलित विशेष समितिको बैठकले स्थानीय निकायको निर्वाचन, अन्तर प्रादेशिक व्यापार लगायतका विषयमा सहमति गरेको सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
विशेष समितिको बैठकबाट बाहिरिँदै भट्टराईले भन्नुभयो-‘संविधान जारी भएको छ महिनाभित्र स्थानीय चुनाव गर्ने, अन्तर प्रादेशिक व्यापारमा दोहोरो कर नलाग्ने व्यवस्था गर्ने, दुवै प्रहरी र सेनाको भर्ना छनोटमा लोकसेवा आयोगको सहभागिता रहने व्यवस्था राखिने सहमति भएको छ, बाँकी विषय भोली टुङ्गो लाग्छ ।’
भट्टराईका अनुसार विशेष समितिले समावेशी आयोगको कार्यालय प्रदेशमा राख्ने, सर्वोच्च अदालतमा थप १० जना अस्थायी न्यायधीश राख्ने, जिल्ला अदालतमा २० प्रतिशत आन्तरिक फाइल बढुवाबाट, ४० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने, अस्पताल र निकुञ्ज केन्द्रीय सरकारले हेर्ने लगायतका विषयलाई टुंगो लगाएको छ ।
तर, आजको बैठकमा मुख्य विवादित विषय धार्मिक निरपेक्षता, थ्रेस होल्ड, प्रदेशको सीमांकन र नागरिकतामा छलफल भएपछि सहमति जुट्न नसकेको सम्वाद समितिका सभापति भट्टराईले सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो । सहमति हुन नसकेका विषयमा भोलीको बैठकले टुंगो लगाएर विधेयकले पूर्णता पाउने उहाँको भनाई थियो ।












प्रतिक्रिया