
धनगढी, ३२ साउन । कञ्चनपुरदेखि चितवनसम्मको भूभाग तराई भूभाग थरुहट थारुवान प्रदेश बनाएरै छाड्ने आदिवासी नेताहरुले बताएका छन् ।
थरुहट थारुवान संघर्ष समितिले सोमबार धनगढीमा आयोजना गरेको विरोध सभामा नेताहरुले कैलाली कञ्चनपुरको एक इञ्च भुभाग पनि नछोड्ने बताएका हुन् । शेरबहादुर देउवाले थारुलाई एक बाल पनि दिइन्न भन्ने अभिव्यक्तिले थारु समुदायको कुनै पनि अधिकार संविधानमा उल्लेख नहुने स्थिति देखिएको भन्दै नेताहरुले थारु बाहुल्य रहेको कञ्चनपुर कैलालीदेखि चितवनसम्मको सबै जिल्ला थरुहट प्रदेशमा राख्ने बताएका छन् ।
संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईले नेपाल राज्यको इतिहास २५० वर्षको भएपनि थारु समुदायको इतिहास हजारौं वर्ष पुरानो रहेको बताउँदै कैलालीदेखि चितवनसम्मको थरुहट प्रदेश बनाउन संघीय समाजवादी फोरमले सम्पूर्ण शक्ति प्रयोग गर्ने बताए ।
कसैले आफ्नो नाममा जग्गा धनी पूर्जा लिदैमा थरुहट भूमि अरुहरु नहुने भन्दै नेता राईले यो थरुहट सधैं थरुहट रहने बताए । उनले विगतमा ठूला राजनीतिक दलका नेताहरुले गल्ती गरेको भन्दै आत्मसमिक्षा गरी गल्ती सच्याउन आग्रह गरे । नेता राईले आफ्नो निर्वाचन क्षेत्रको मात्रै नेता बन्नका लागि ठूला दलका शेरबहादुर देउवा, भीम रावल जस्ता नेताले दुई वर्गलाई लडाउन खोजेको बताए ।
आफ्नो विकास क्षेत्र अखण्ड राख्नु र अर्काको विकास क्षेत्र काटेर आफ्नोमा गाभ्नु राजनीति नेताहरुको ठूलो भूल भएको बताए । नेकपा–माओवादीका सचिव देव गुरुङले वर्षौदेखि पछि पारिएको समुदायलाई विशेष र अग्राधिकार दिनका लागि स्वायत्तता दिनुपर्ने यसलाई खारेज नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने र थरुहट आन्दोलनलाई सहयोग गर्दै रहने बताए । थारु समुदायको सामुहिक भल्मन्सा बड्घर प्रथा परापुर्वकालको कविला राज्यसंग सम्बन्धित रहेको बताउँदै नेता गुरुङले दाङ र वर्दियामा गरिएको उत्खनन्ले थारु समुदायको इतिहास झल्काएको बताए ।

उनले ति इतिहासको आधारमा कैलाली कञ्चनपुरसहित दाङसम्मको पाँच जिल्लालाई थारुवान प्रदेश बनाउनुपर्ने बताए । नेपाली कांग्रेसका नेता तथा सभासद् तेजुलाल चौधरीले कांग्रेस पार्टीले थारु समुदायलाई टुक्रा टुक्रा पारी फुटाएर राज गर्न रोजेको बताए । उनले थारु समुदायलाई पाँच टुक्रामा विभाजन गरेर अल्पमतमा पार्न खोजेकाले आफू पार्टी निर्णयको विरुद्धमा उभिएर थरुहट आन्दोलनमा लागेको बताए ।
थरुहट तराई पार्टी नेपालकी उपाध्यक्ष तथा सभासद् गंगा थारुले कैलाली र कञ्चनपुरको एक इञ्च पनि जमिन नछोड्ने बताइन् । उनले यहाँको भूमिलाई थारु समुदायले उर्वर बनाएकाले पछिल्लो कालखण्डमा पछि परेका थारु समुदायलाई अधिकार दिन र राज्यमा पहुँच पुगाउन कैलाली कञ्चनपुर सहितको थरुहट प्रदेश हुनै पर्ने बताइन् ।
कैलाली जिल्लाभरबाट करिब अढाई सय ट्रयाक्टर र मोटरसाईकल प्रगोग गरेर थारु समुदायहरु विरोध सभामा भाग लिन धनगढी पुगेका थिए । कार्यक्रममा उनीहरुलाई मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका पोलिटब्यूरो सदस्य लक्ष्मण थारु, योगेन्द्र थारु, सद्भावना पार्टीका नेता तथा पूर्वसभासद् मालमति राना, संघीय सद्भावना पार्टीका केन्द्रीय सदस्य रेशम चौधरी, नेपाल कांग्रेस कैलालीका सचिव रामचरण चौधरी लगायतले सम्बोधन गरेका थिए ।
थरुहट थारुवान संघर्ष समितिका संयोजक लाहुराम चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भाग लिन जिल्लाका छ वटै निर्वाचन क्षेत्रका थारु समूदायका सर्वसाधारण झण्डै तीन सय ट्याक्टरमा धनगढी आएका थिए । मोटरसाइकलमा आउनेको संख्या पनि उत्तिकै थियो ।
धनगढीको सभामा भाग लिन आउने क्रममा कतिपय ठाउँमा अखण्ड सुदूरपश्चिम पक्षले रोकेको आरोप थारु नेताहरुले लगाएका छन । धनगढीको हसनपुर, चटकपुर र अत्तरियामा ढुंगामुडा हानेर अवरोध सृजना भएको थियो । स्थिति नियन्त्रणमा लिन पुरानो एअरपोर्टमा प्रहरी १२ राउन्ड अश्रुग्यास प्रहार गरिएको थियो ।
अप्रिय घटना नहोस भनेर आज धनगढीमा एक हजार जनपद प्रहरी र दुई सय ५० सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
















प्रतिक्रिया