३० आश्विन २०८३, शुक्रबार

तेस्रो साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

u-16काठमाडौँ, ३१ साउन । नेपाली किशोर टोलीले तेस्रो साफ च्याम्पियनसिप सोह्र वर्षमुनि (यु १६) फुटबल प्रतियोगिताको सेमिफाइनल भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै मैदानमा उत्रने भएको छ ।

बङ्गलादेशको सिलहेटमा आज साँझ ६ बजे हुने दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतको सामना गर्दै मैदानमा उत्रने छ । तेस्रो पटक सेमिफाइनलमा पुगेको नेपालले अघिल्लो संस्करणको साफ च्याम्पियनसिपमा भारतसँग भोगेको हारको बदला लिने दाउमा रहेको छ । जारी प्रतियोगितामा समूह ‘बी’ मा परेको नेपाल शीर्ष ६ अङ्क जोड्दै समूहको विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको हो ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई पाँच शून्य गोलअन्तरले पाखा लगाउँदै विजयी भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानलाई एक शून्य गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै भारत भने समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको खेलमा भारत बङ्गलादेशसँग पराजित भएपछि नेपालसँगको भेट पक्का गरेको हो ।

त्यस्तै अघिल्लो संस्करणको फाइनल खेलमा नेपाल भारतसँग एक शून्य गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बनेको थियो ।

आज नै दिउँसो ३ बजे हुने पहिलो सेमिफाइनल खेलमा अफगानिस्तान र बङ्गलादेश आमने सामने हुनेछन् । रासस