धनगढी, ३१ साउन । बिखण्डनकारी अभिव्यक्ति दिएर सामाजिक सद्भाव भड्काउँदै हिँडेका सभासद् अमरेश कुमार सिंहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गर्न नेपाली कांग्रेस कैलालीले माग गरेको छ ।
आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस कैलालीले राष्ट्र बिरोधी अभिव्यक्ति दिने सिंहलाई सभासदको पदबाट बर्खास्त गरि साधारण सदस्य समेत नरहेने गरि तत्काल पार्टीबाट हटाउन माग गरेको हो ।
उनले कैलालीको टीकापुरमा आयोजित सभामा साप्रदायिकता भड्काउने र राष्ट्रियता विपरित बोलेका थिए । सभामा बिखण्डनकारी अभिव्यक्ति दिएपछि सिंहलगायतका केही मधेस केन्द्रित नेताहरुलाई स्थानीयले धपाएका थिए ।
काँग्रेस कैलालीका सचिब प्रकाश बहादुर बमले खुलेयाम रुपमा जातिय हिंसा मच्चाउन प्रेरित गर्ने सामाजिक सद्भाव र राष्ट्रियता तथा राष्ट्रिय अखण्डता कमजोर पार्ने खालका अभिव्यक्ति दिने सभाषद अमरेशकुमार संहलाई तत्काल सभाषद पदबाट बर्खास्त गर्न तथा नेपाली कांग्रेसको बिधान एवं नियमावली २०६८ बमोजिम अनुशासन एवं आचार संहिताको उल्लंघन गरेको ठहर गरि निजलाई पार्टीको साधारण सदस्यबाट समेत हटाउन नेपाली कांग्रेस, केन्द्रीय कार्य समितिसँग जोडदार माग गरेका छन् ।
‘उत्तेजक, अराजनीतिक र साम्प्रदायिक हिंसा भड्काउने खालको अभिव्यक्ति दिने सभाषद सिंहको यस किसिमको अराजक एवं उछृङ्खल धारणाप्रति नेपाली कांग्रेस कैलाली घोर आपत्ती जनाउदै निन्दा एवं भत्र्सना गर्दछ’ बिज्ञप्तीमा उल्लेख छ । साथै कांग्रेस कैलालीले सिंहसहितका विखण्डनकारी अभिव्यक्ति दिने मधेसी नेतालाई सुदूरपश्चिममा पाइला टेक्न समेत नदिने चेतावनी दिएको छ ।













प्रतिक्रिया