काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली जनताले अहिले ठूला चुनौतीको सामना गरिरहेको बताउनुभएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा संयुक्त अरब इमिरेट्स (युएइ)को मश्रेक बैंक लिमिटेडले भूकम्पपीडित नेपालीको राहत र पुनःस्थापना कार्यका लागि प्रदान गरेको सहयोग रकम ग्रहण गर्दै सो कुरा बताउनुभएको हो ।
“हामीहरुले भूकम्प, बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपहरुको सामना गरिरहेका छौँ” – प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “हाम्रो दुःखमा मित्र राष्ट्र, दातृ निकाय र तपाईंहरु जस्ता उदार हृदयका मित्रहरुले दिनुभएको सहयोगले हामीलाई ठूलो भरोसा मिलेको छ ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाल नयाँ संविधान निर्माण गरी जारी गर्ने तयारीमा रहेको उल्लेख गर्दै अब नेपालमा दिगो शान्ति र राजनीतिक स्थायित्व हुने भएकाले लगानी गर्नका लागि आग्रह गर्नुभयो ।
उहाँले नेपालमा जलविद्युत् उत्पादन, पूर्वाधार निर्माण, पर्यटन, कृषि र जडीबुटीका क्षेत्रमा अधिक सम्भावना रहेकाले यी क्षेत्रमा लगानीको खाँचो रहेको उल्लेख गर्नुभयो ।













प्रतिक्रिया