२१ कार्तिक २०८३, शनिबार

आमहड्तालका यी कमान्डरहरू पक्राउ परे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bandaकाठमाडौं, ३१ साउन । मोहन बैद्य नेतृत्वको ३३ दलीय मोर्चासहित ४४ दलले आज आह्वान गरेको आमहड्तालका क्रममा राजधानीमा मात्रै प्रहरीले झण्डै एक सय नेता तथा कार्यकर्ता पक्राउ गरेको छ ।

बन्द सफल बनाउन बिहानै सडकमा उत्रिएका केन्द्रीय नेताहरूसहितलाई पक्राउ गरेको नेकपा–माओवादीका पोलिट व्यूरो सदस्य दिलीप प्रजापतीले जानकारी दिनुभयो ।

‘बन्दका क्रममा करिव एक सय नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले राजधानीका विभिन्न स्थानहरूबाट गिरफ्तार गरेको छ’, उहाँले भन्नुभयो, ‘बन्द अवज्ञा गरेका केही सवारी साधनमा पनि तोडफोड भएको जानकारी आएको छ ।’ उहाँले अत्यावसेक सेवालाई आमहड्तालले असर नगर्ने बताउनुभयो ।

बन्दकर्ताले आमहड्ताल उल्लंघन गरेको आरोपमा गंगबुमा एउटा माइक्रोबसमा तोडफोड गरिदिएको प्रजापतीले बताउनुभयो ।

यसैबीच, प्रहरीले काठमाडौंको कलंकीबाट नेकपा–माओवादीकी पोलिटव्यूरो सदस्य अमृता थापा, केन्द्रीय सदस्य दामा शर्मा, ईश्वरचन्द्र ज्ञवाली, पार्वती थापासहित १५ जना तथा रत्नपार्कबाट संघीय समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ३५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य प्रजापतीले बताउनुभयो ।

४४ दलको संयुक्त आमहड्ताललाई ध्यानमा राखेर सडकमा सुरक्षा निकायको पनि उल्लेख्य उपस्थिति रहेको छ ।