हवाना, ३० साउन । गएका करिब ५४ वर्षदेखि अवरुद्ध भएको संयुक्त राज्य अमेरिका र क्युवा बीचको कूटनीतिक सम्बन्धको शुक्रबार पुनःस्थापना भएको छ ।
यससँगै क्युवाको राजधानी हवानामा अमेरिकी झण्डा पनि फहराएको समाचारमा जनाइएको छ । क्युवामा हालैमात्र अमेरिकी दूतावास पुनः खोलिएको छ । यससँगै संयुक्त राज्य अमेरिका र क्युवाको नयाँ सम्बन्ध विस्तारको प्रक्रिया सुरु भएको पनि हवानाबाट प्राप्त समाचारमा जनाइएको छ ।
नयाँ राजदूतावासको झण्डोत्तलन शुक्रबारै भएको छ । सो विशेष कार्यक्रमको अध्यक्षता अमेरिकी विदेशमन्त्री जोन केरीले गर्नुभएको थियो ।सो झण्डोत्तलनका लागि विदेशमन्त्री केरी शुक्रबारै हवाना जानुभएको समाचारमा जनाइएको छ । यस घटनालाई यी दुई देशबीचको सम्बन्ध पुनःस्थापनाको एक कडीका रुपमा पनि लिइएको छ ।
यी दुई देशबीच सन् १९६१ को जनवरी ३ देखि सम्बन्धमा दरार उत्पन्न भएको छ । शीतयुद्वका कारण छुट्टिएका यी दुई देशको सम्बन्धमा यस पटक पुनःस्थापना गर्ने प्रयत्न भएको हो ।
सन् १९४५ पछि यो पहिलो पटक अमेरिकी विदेशमन्त्रीका हैसियतमा विदेशमन्त्री केरीले क्युवाको भ्रमण गर्नुभएको हो । उहाँको सो भ्रमणका क्रममा क्युवा सरकारले विशेष सम्मान प्रदान गर्ने बताइएको छ ।
त्यस समारोहपछि उहाँले क्युबाका उच्चपदस्थ सरकारी अधिकारीसँग भेटवार्ता गर्नुहुने बताइएको छ । साथै उहाँले हवानाको क्याथोलिक चर्चका प्रमुखसँग पनि भेटवार्ता गर्नुहुने छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै उहँले भन्नुभयो- यहाँ डराउनुपर्ने वा रिस गर्नुपर्ने कुरा केही पनि छैन, हामीले हाम्रा दुवै देशका जनतालाई एक आपसमा बुझ्न दिउँ यसले हामी दुवैलाई उपलब्धि नै दिनेछ ।
हामी अमेरिकी र क्युबालीहरु इतिकासकै बन्दी होइनौँ, हाम्रा राष्ट्रपतिहरु बाराक ओबामा र राउद क्यास्त्रोले ऐतिहासिक निर्णय गर्नुभएको छ र यसलाई अब हामी सबै मिलेर सुदृढ बनाउनुपर्ने अवस्था छ । रासस/सिन्ह्वा















प्रतिक्रिया