काठमाडौं, ३० साउन । एमालेका मधेसी नेताहरुले सप्तरीदेखि पर्सासम्मको प्रदेश–२ को सामर्थ्य कमजोर भएको भन्दै पहाडी जिल्लामा जोड्न माग गरेका छन् ।
आठ वटा तराईका जिल्ला मात्र आर्थिक रुपमा सवल बन्न नसक्ने निष्कर्ष निकाल्दै उनीहरुले प्रस्तावित सिमांकनमा पुनर्विचार गर्न पार्टीका शिर्ष नेताहरुको ध्यानाकर्षण गराएका हुन् ।
एमाले केन्द्रीय सदस्य तथा सभासद् शत्रुघन महतोसहितका नेताहरुले अन्य दलका सभासद् र नेताहरुलाई पनि यो बिषयमा समर्थन जुटाउने अभियान थालेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
‘सामार्थ्यसहितको हुनुपर्छ भन्ने हाम्रो माग हो, अहिलेकै अवस्थामा प्रदेश–२ चल्न सक्दैन,’ महतोले भने, ‘यसको पक्षमा अन्य दलका नेताहरुसँग पनि कुराकानी गरिरहेका छौ ।’
एमाले अध्यक्ष केपी ओली, नेता झलनाथ खनाल, माधव नेपाल लगायतलाई भेटेर उनीहरुले सिमांकनमा पुनर्विचार गर्नुपर्ने माग गरेका छन् ।
उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा र रामेछाप समेत जोडेर सिमांकन गर्नुपर्ने महतोले बताए ।
‘यस्तो भयो भने प्रदेशमा पहिचान र सामार्थ्य दुवै झल्किन्छ,’ महतोले भने ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रदेश–२ मा रहेका सप्तरी र सिरहालाई पूर्वको प्रदेश–१ मा गाभ्ने माग गरिरहेको सन्दर्भमा एमाले नेताहरुले त्यस्तो नगर्न आफ्ना नेताहरुलाई ध्यानाकर्षण गराएका छन् ।
अहिलेका आठ वटा जिल्लालाई पनि टुक्राएर पूर्वमा जोड्ने हो भने त्यो क्षेत्रमा विरोधको आगो बल्ने चेतावनी उनीहरुले दिएका छन् ।















प्रतिक्रिया