काठमाडौं, ३० साउन । मध्य र सुदूरपश्चिमका जिल्लामा भएका विरोध कार्यक्रममा जातीय सद्भाव भडकाएको विषयमा सांसदहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
उनीहरूले केही राजनीतिक दलका नेताहरू नै भडकाउने काममा संलग्न भएको भन्दै आपत्ति जनाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले संविधान जारी गर्ने बेलामा जनता भडकाई अवरोध गर्नु संविधानसभाकै अपमान भएको भनी आलोचनासमेत गरे ।
विशेष समयमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले थारूहरूको अधिकारका नाममा केही नेताले तरबार र खुकुरी लिएर जाति विशेषलाई लखेट्न भनेकोमा आपत्ति जनाए ।
‘के अभिव्यक्ति दिएको हो त्यो । कुनै निश्चित भूभागबाट आएका मानिसलाई लखेट भनेर उर्दी दिन सुहाउँछ’, केही मधेस केन्द्रित दलका नेताले जनता उचालेको सन्दर्भ राख्दै उनले भने, ‘जनता सजग भइसकेका छन् । कसले संविधान चाहेको छ र छैन भनी बुझेकाले त्यस्तो प्रयास नगरे हुन्छ ।’
थारूहरूका अधिकार समेट्ने मागका नाममा अन्य जाति समुदायलाई भडकाउने अपराध भइरहेको उनले जनाए ।
रावलले देशप्रेमी बीपी कोइरालाको आदर्श बोकेको पार्टीकै सभासदले देश टुक्र्याई बंगलादेश, पाकिस्तान बनाउँछु भन्दै अभिव्यक्ति दिँदा पनि कांग्रेस चुप लागेर बसेकामा आश्चर्य राखे ।















प्रतिक्रिया