पोखरा, २९ साउन । महाधिवेशन नजिकिदै गर्दा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसमा विवाद बढेको छ । कास्कीको पोखरामा संस्थापन र देउवा पक्षबीचको विवादले उग्र रुप लिएपछि कांग्रेसका एक नेता आफ्नै कार्यकर्ताबाट मारिएका छन् ।
नेपाली कांग्रेसका सस्थापन पक्षका कार्यकर्ताले लेखनाथ १ बरालथरका देउवा निकट मानिने स्थानीय नेता रामजी पौडेलको विहीबार राति हत्या गरेका हुन् । संस्थापन पक्षका कार्यकर्ता राजु रानाभाटसहितको समुहले पौडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार कास्की क्षेत्र १ को नगर समितिको अध्यक्ष पदका लागि पौडेलले उम्मेद्वारी दिएपछि दुबैपक्षबीच विवाद बढेको थियो ।
कास्कीका प्रहरी प्रमुख एसपी हरिबहादुर पालले मृतक पौडेलको शव आज बिहान गगनगौडामा भेटिएको बताए । हत्यामा संलग्न एक अभियुक्त पक्राउ परेको उनले बताए । पक्राउ पर्नेमा राजु रानाभाट रहेका छन् । उनले प्रहरी वयानमा पौडेलको हत्या गरेको स्वीकार गरेका छन् ।
यसरी भयो हत्या

पार्टी सदस्यता र नगर समितिको अध्यक्ष पदमा दुई पक्षबीच केहीसमयदेखि चर्काे विवाद चुलिएको थियो । बिहीबार राति विवादलाई साम्य पार्न स्थानीय कांग्रेसी नेता बुद्धिमान गुरुङको घरमा छलफल भएको थियो । तर त्यहाँ मिल्नुको सट्टा विवाद झन् बढेपछि पौडेल छलफलबाट रिसाएर घरतिर लागेका थिए ।
पौडेलसँगै स्थानीय कार्यकर्ता मनोज गुरुङ पनि घरतिर सँगै लागे । तर, उनीहरुलाई पिछा गर्दै राजु रानाभाटको समुहले सुनसानबीच बाटो रोकेर दुबैलाई कुटे । स्थानीय कार्यकर्ता मनोज कुटपिटपछि भागेर घर पुगे । त्यसपछि रानाभाटको समुहले पौडेको हत्या गरिदियो । हत्या गरेर उनको शवलाई गगनगौडामा फालिदिए ।
घटनामा संलग्न रानाभाटको समुहमा प्रकाश गुरुङ, रविन केसी र विश्वास गौतम फरार भएका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । उनीहरु सबै संस्थापन पक्षका कार्यकर्ता हुन् । प्रधानमन्त्री सुशील कोइराला र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा समर्थकका रूपमा नेपाली कांग्रेसका कार्यकर्ताहरू देशभर विभाजित छन् ।















प्रतिक्रिया