काभ्रे, २९ साउन । पाँचखाल ६ होक्सेकी सीता तामाङले आर्थिक अवस्था कमजोर भएको भन्दै आफ्नो मृगौला बेचेकी छिन्। श्रीमान् जितबहादुरले पनि मृगौला बेचेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
भूकम्पले घर भत्काइदिए पछि ५ जनाको परिवारको बिचल्ली भएको छ। ३ महिनाकी सुत्केरी सीता र जितबहादुरलाई बासको जोहो गर्ने र २ बालबालबालिकाको पालनपोषणको चिन्ता छ।
‘घर भत्किएर बचेको पुरानो जस्तापाताले सानो छाप्रो बनाएका छौँ, छड्के पानी पर्यो भने पूरै भिजिन्छ,’ सीताले भनिन्, ‘सानो बच्चा र मेरो पनि बिचल्ली भयो, एउटा सानो घर बनाउन पाए बाँचिन्थ्यो कि जस्तो लाग्छ।’
सीता र जितबहादुर दुवै मजदुरी गर्छन्। मृगौला बेचेकाले स्वास्थ्यमा बारम्बार समस्या आउने गरेको छ ।
११ वर्षीय प्रदीप र ९ वर्षीय कञ्चनलाई पढाइलेखाइको खर्च जुटाउन पनि उनीहरूलाई समस्या छ। केही दाताले दिएको राहतको चामल खाएर बसिररहेका उनीहरू अब के खाने भन्ने पिरलोमा छन्।
ज्याम्दीका नवराज परियार पनि भूकम्पपछि बिलखबन्द परेका छन्।
१५ वर्षअघि झुक्यानमा परेर मृगौला बेचेका उनलाई भूकम्पले घर भत्किएपछि के गर्ने भन्ने अन्योल छ।
उनको गाविस काभ्रेमा अति प्रभावित गाविस हो। ‘स्वास्थ्यले काम गर्न दिँदैन, आम्दानीको अर्को स्रोत छैन,’ उनले भने, ‘छाप्रो बनाएर बसेका हाम्रो बिजोक छ, कसैले घर बनाउन सहयोग गरिदिए धन्य हुन्थ्यो।’
मानव बेचबिखनविरुद्ध कार्यरत अधिकारकर्मी कृष्णप्यारी नकर्मीले दैनिक घर बनाइदिनुपर्यो भन्दै पीडितले दुखेसो पोख्ने गरेको बताइन्। ‘उहाँहरू पीडामा हुनुहुन्छ, फोनमा, भेटेर आग्रह गर्नुहुन्छ,’
उनले भनिन्, ‘सकेको सहयोग गरिरहेका छौँ, घर नै बनाइदिन सक्ने अवस्था छैन।’
जिल्लाको होक्से, ज्याम्दी, काभ्रे, महादेवस्थान, बालुवा, जैसीथोक लगायतका क्षेत्रमा मात्र मृगौला बेच्नेको संख्या १ सय नाघिसकेको छ ।
२० वर्षदेखि सुरु भएको मृगौला बेचबिखन अझै रोकिएको छैन। बेच्नेलाई २ लाखसम्म दिने प्रलोभन देखाएर ३० देखि ६० हजारसम्म दिने गरिएको छ।















प्रतिक्रिया