३० आश्विन २०८३, शुक्रबार

कमल थापा उठेपछि सुशील, केपी र प्रचण्डले टाप कसे, थर्काउने डरले झलनाथ पनि निस्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । व्यवस्थापिका-संसद्को आजको बैठकमा सबै दलका शीर्ष नेताहरुले आ-आफ्नो धारणा राखेका छन् ।

बैठकको सुरुवात गर्दै सभामुख सुवासचन्द्र नेम्वाङले सुरुमा प्रधानमन्त्री सुशील कोइरालालाई सम्बोधनका लागि बोलाए । प्रधानमन्त्रीलाई बोल्न २० मिनेट दिइएको थियो निर्धारित समयमै प्रधानमन्त्री कोइरालाले आफ्नो मन्तव्य सके ।

त्यसपछि सभामुख नेम्वाङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बोलाए । उखान टुक्का प्रयोग गर्दै ओलीले रसिलो भाषण गरेपछि संसद भवन शान्त थियो । ओलीले १ मिनेट बढी लगाएर आफ्नो भाषण सके ।

सभामुख नेम्वाङले त्यसपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम पुकारे । २० मिनेटको भाषण गर्न आएका प्रचण्डले पनि २ मिनेट बढी खाए । उनको भाषण पनि चर्काे थियो । ओली र कोइराला ध्यान दिएर सुन्दै थिए ।

त्यसपछि प्रचण्ड भाषण सकेर आफ्नो सिटमा बसे । सभामुख नेम्वाङले चौथो नम्बरमा कमल थापाको नाम पुकारे । त्यो बेला कोइराला, ओली र प्रचण्डका कान ठाडा भए । जब कमल थापा मञ्चमा पुगे तब सुशील, केपी र प्रचण्ड एकसाथ जुरुक्क उठेर त्यहाँबाट टाप कसे । सँगै बसिरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि जुरुक्क उठेर बाहिर टाप कसे ।

आफ्नो भाषण नसुनेर शीर्ष नेता बाहिर निस्किएपनि कमल थापाको पारो सन्कियो । शीर्ष तीन नेताले एकअर्काको कुरा मन लगाएर सुनेपनि आफ्नो कुरा नसुनेको भान उनलाई भयो । त्यसपछि उनले संसदै थर्किने गरी चर्काे स्वरमा बोले । थापालाई सभामुखले ११ मिनेटको समय दिएका थिए तर, तर थापाले थप ४ मिनेट भाषण लम्ब्याए ।

शीर्ष नेताले नसुनेपछि थापाले निकै चर्को स्वरमा संसदै थर्किने गरी आक्रामक भाषण गरे । उनले भाषण गर्दा राप्रपा नेपालका सभासदहरु पनि जोशिएका थिए ।