काठमाडौं, २८ साउन । संविधानसभाको मस्यौदा समितिले नयाँ संविधानको अन्तिम विधेयक बनाउन आफ्नो काम सुरु गरेको छ ।
सिंहदरबारमा आजदेखि बस्ने समितिको बैठकमा नयाँ संविधानको अन्तिम विधेयकका लागि पहल हुनेछ ।
कांग्रेसका सभासद कृष्णप्रसाद सिटौला सभापति रहेको सो समितिले संविधानसभाबाट प्राप्त गरेको राजनीतिक सम्वाद तथा सहमति समितिको सुझावसहितको प्रतिवेदनलाई छलफल गर्नेछ ।
संविधानसभाले बुधबार सम्वाद समितिको प्रतिवेदन बहुमतले पारित गरी मस्यौदा समितिमा पठाएको थियो ।
संघीय राज्यको सिमाङ्कनका विषयमा भने संघीय आयोगलाई जिम्मेवारी दिने सहमति यसअघि प्रमुख दलका शीर्ष चार नेताले गरी सकेका छन् ।
शासकीय स्वरुप, निर्वाचन प्रणाली, नागरिकता, धर्मनिरपेक्षतालगायतका विषयमा दलहरूका बीच विवाद छ ।
यी विषयलाई संशोधन र सुधार गर्न जनताका रायसुझाव आउनुका साथै सभासदहरूले पनि विभिन्न सुझावहरू दिएका छन् ।
समितिको बैठक बिहान नौ बजेपछि बस्ने कार्यक्रम छ । पाँच दिनको समयसीमा पाएको समितिले नयाँ संविधानको अन्तिम विधेयक संविधानसभामा पेश गर्नुपर्नेछ ।
सोही विधेयकलाई भदौ दोस्रो साताभित्र जारी गर्ने प्रमुख दलहरूको योजना छ ।












प्रतिक्रिया