काठमाडौं, २७ साउन । दुई दिनको छलफलपछि संविधानसभाले राजनीतिक सहमति तथा सम्वाद समितिको प्रतिवेदनलाई बहुमतले पारित गरी संविधानसभा मस्यौदा समितिमा पठाउने निर्णय गरेको छ ।
जनताको सुझाव समेटेर राजनीतिक समितिले संविधानको मस्यौदा तयार पारी संविधानसभामा पेश गरेको थियो ।
सो प्रतिवेदनमाथि हिजो र आज दुई दिनसम्म संविधानसभामा छलफल भएको हो ।
छलफलपछि राजनीतिक समितिका सभापति बाबुराम भट्टराईले जवाफ दिनुभएको थियो ।
भट्टराईको जवाफपछि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मस्यौदालाई निर्णयार्थ प्रस्तुत गर्नुभयो ।
मस्यौदाको प्रस्तावमा निर्णयार्थ पेश गर्दा विपक्षमा नेमकिपाका जम्मा तीन मत मात्रै परेका थिए ।
संविधानको मस्यौदालाई मस्यौदा समितिमा पठाउने पक्षमा कांग्रेस, एमाले, एमाओवादी, फोरम लोकतान्त्रिकसहितका दलहरूले मतदान गरेका थिए ।
आजको बैठकलाई मधेश केन्द्रित र राप्रपा नेपालसहितका केही दलहरूले भने बहिष्कार गरेका छन् ।
यसैबीच, संविधानसभाले सुझावसहितको संविधानको प्रतिवेदनलाई अन्तिम विधेयकको रुप दिन मस्यौदा समितिलाई पाँच दिनको समय दिएको छ ।
मस्यौदा समितिले नयाँ संविधानको अन्तिम विधेयक अब संविधानसभामा पेश गर्नुपर्ने छ ।
प्रतिवेदनलाई मस्यौदा समितिमा पठाउने निर्णयसँगै संविधानसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बैठकका लागि पछि सूचना गरिनेछ ।












प्रतिक्रिया