२१ कार्तिक २०८३, शनिबार

शीर्ष चार नेताको बैठकले गर्‍यो नयाँ सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4-party

काठमाडौँ, २७ साउन । प्रमुख चार राजनीतिक दलले सीमा निर्धारणलगायतका महत्वपूर्ण पक्षमा जनताबाट आउने न्यायोचित सुझावलाई स्थान दिने निष्कर्ष निकालेका छन् ।

नयाँबानेश्वरस्थित संविधानसभा भवनमा बसेको चार दलका शीर्ष नेताको बैठकले संविधानको मस्यौदामा केन्द्रित भएर सुझाव आइरहेको हुँदा उपयुक्त सुझावलाई विभिन्न चरणमा सम्बोधन गर्न सकिने नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “न्यायोचित र तर्कपूर्ण सुझावलाई ग्रहण गरेर स्थान दिन हामी तयार छौँ, छलफल चलिरहेको छ । मङ्गलबारै संयुक्त वक्तव्य जारी गरेर आग्रह गरिएको छ । संविधानसभाबाट पनि सुझाव आएको छ । सबै सुझावको उचित सम्बोधन गरिन्छ ।”

जनताबाट आएका जायज सुझावलाई आआफ्नो माध्यमबाट केन्द्रमा ल्याउने व्यवस्था मिलाइएको नेताहरुले बताउनुभएको छ । बैठकमा सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा उत्पन्न परिस्थितिका बारेमा विश्लेषण गर्नुका साथै आगामी कार्यदिशाका सन्दर्भमा गहन छलफल भएको थियो ।

नेताहरुका अनुसार ६ प्रदेशको सीमांकन परिमार्जनमा जताततैबाट दबाब आएकाले आवश्यकता अनुसार २ थपेर ८ प्रदेश सम्म बनाउन सकिनेमा पुर्नविचार गरिने भएको छ । प्रदेश कहाँ बढाउने भन्ने विषयमा थप छलफल हुने बताइएको छ ।

बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष ओली, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको सहभागिता रहेको थियो । रासस