२१ कार्तिक २०८३, शनिबार

एमाओवादी सभासद शर्माले ‘अखण्ड आन्दोलन’को विरोध गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janardan_sharmaकाठमाडौं, २७ साउन । एकीकृत माओवादीका सभासद जनार्दन शर्माले अखण्डको नारा लगाउनेहरू संघीयता विरोधी रहेको आरोप लगाउँदै मध्यपश्चिमाञ्चलका जिल्लाहरूमा चलिरहेका आन्दोलनप्रति असन्तुष्टि जनाएका छन् ।

संविधानसभाको आजको बैठकमा राजनीतिक सम्वाद तथा सहमति समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलका क्रममा सभासद शर्माले मुलुक मात्रै अखण्ड रहेको बताउनुभयो ।

‘अखण्ड भनेको मुलुक मात्रै हो । अरु केही पनि अखण्ड छैन’, शमाले भन्नुभयो, ‘अखण्डको नारा लगाउनेहरू र कुरा गर्नेहरू संघीयता विरोधी हुन् ।’

उहाँले अखण्डताको नारा नलागाउन सबै आन्दोलनकारीहरूलाई आग्रह गर्नुभयो ।

मध्यपश्चिमाञ्चलका जिल्लाहरूमा संघीय राज्यको सिमाङ्कनलाई लिएर भएको आन्दोलनप्रति आफू जानकार रहेको बताउनुभएका एमाओवादी सभासद शर्माले भन्नुभयो, ‘सुर्खेत संघीय राजधानी बनाउने हो भने अहिलेकै छ नम्बर प्रदेशको सिमाङ्कन ठीक छ । अन्यत्र बनाउने हो भने सोँच्नुपर्छ ।’

उहाँले पाँच नम्बर प्रदेशका सम्बन्धमा दाङलाई संघीय राजधानी बनाउनु पर्ने बताउनुभयो ।

‘पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउने हो भने राप्ती अञ्चलका जिल्लाहरू विभाजन गरिनु हुँदैन’, सभासद शर्माले भन्नुभयो, ‘होइन भने दाङभन्दा अन्यत्र संघीय राज्य हुने हो भने अहिलेकै पाँच नम्बर प्रदेशको सिमाङ्कन ठीक छ । विरोध गर्नु हुँदैन ।’

मध्यपश्चिमाञ्चलमा अखण्ड संघीय राज्यका पक्षमा आन्दोलन चर्कीरहेका बेला रुकुम जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने एमाओवादीका सभासद शर्माले अखण्ड आन्दोलनको विरोध गरेका हुन् ।

संघीय राज्यको सिमाङ्कनलाई लिएर दाङ, सल्यान, सुर्खेत, जुम्लालगायतका जिल्लामा आन्दोलन चलिरहेको छ ।