काठमाडौं, २७ साउन । संविधानको प्रारम्भिक मस्यौदाको विरोधमा मुलुकका विभिन्न भागमा प्रदर्शन र हिंसा चर्किन थालेपछि प्रधानमन्त्री सुशील कोइरालालगायत १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता नेताहरूले मस्यौदाका त्रुटि सच्याउने प्रतिबद्धताका साथ संयम अपनाउन आमजनतालाई आग्रह गरेका छन्।
राजधानीमा नेताहरूले मंगलबार संयुक्त रूपमा अपिल जारी गर्दै गर्दा सुर्खेतमा सोमबार प्रहरीको गोली लागी घाइते भएका एक अर्का प्रदर्शनकारीको मृत्यु भएपछि प्रस्तावित सीमांकनको विरोधमा ज्यान गुमाउनेहरूको संख्या चार पुगेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
सुर्खेतमा मंगलबार निषेधाज्ञा जारी गरिए पनि विरोध र प्रहरीसँगको भिडन्त जारी रह्यो भने प्रशासन कर्फ्यू लगाउन बाध्य भयो।
स्थानीयवासी मध्यपश्चिमाञ्चल छुट्टै प्रान्त हुनुपर्ने मागका साथ सडकमा उत्रिएका छन् र यो प्रक्रियामा विरोधस्वरूप उनीहरूले हस्ताक्षरकर्ता चार दलका कार्यालयलाई निसाना बनाएका छन्।
जुम्लामा पनि कर्णाली प्रदेशको माग गर्दै जनता सडकममा उत्रिएपछि परिस्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको र त्यसमा एकजना घाइते भएका छन् ।
प्रहरीले हानेको गोली लागेर घाइते निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष राजु महतको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जुम्लामा प्रदर्शन चर्किंदै गएपछि नियन्त्रण गर्न नेपालगन्जबाट दुई हेलिकोप्टर सशस्त्र प्रहरी जुम्ला पुर्याइएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संयुक्त अपिल जारी गर्दै संविधानमा अवरोध पुर्याउने शक्तिहरूको उक्साहटमा नलाग्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन्।
उनीहरूले जनताका माग र प्रस्तावित मस्यौदामा देखिएका त्रुटिहरूलाई सम्बोधन गर्ने आश्वासन दिएका छन्।
मध्यपश्चिमका ५० जना सभासद्ले चार दलका प्रमुख नेताहरूलाई भेटेर सुर्खेतमा भड्किएको हिंसा अन्य जिल्ला र क्षेत्रमा पनि विस्तार हुन सक्नेप्रति सचेत गराएपछि उनीहरूले मंगलबार संयुक्त रूपमा यस्तो अपिल गरेका हुन्।
सुर्खेतमा अखण्ड मध्यपश्चिमको माग गर्दै शनिबार सुरु भएको आन्दोलन नियन्त्रण बाहिर गएको छ। प्रदर्शन हिंसात्मक बन्दै गएपछि आन्दोलनको सुरुआत गर्ने अखण्ड मध्यपश्चिम नागरिक आन्दोलन संघर्ष समिति पछाडि हटेको छ।
जिल्लाका राजनीतिक दलहरूले समेत आन्दोलनको नेतृत्व लिने प्रयास असफल भएपछि अखण्ड मध्यपश्चिमको आन्दोलन नियन्त्रणबाहिर गएको हो। मंगलबारको प्रदर्शनमा प्रहरीको गोली लागेर १२ जना प्रदर्शनकारी घाइते भएका छन्। प्रदर्शनमा सुर्खेतलगायत जाजरकोट, दैलेख, कालिकोट र जुम्लाबाट समेत मानिसहरू सहभागी छन्।
प्रदर्शनकारीहरूले मंगलबार दिनभर वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन्। उनीहरूले प्रहरीमाथि पेट्रोलबमसमेत प्रहार गरे। सडकमा रहेका सार्वजनिक सम्पत्तिमा तोडफोड गर्दै नाराबाजी गरेका छन्। प्रहरीसँग दिनभर झडप भएको थियो।
नेतृत्वबिना नै सडकमा उर्लिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनलाई समेत हम्मेहम्मे भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले मंगलबार दिनभर हवाई फायर गरेको थियो।
मध्यपश्चिमका क्षेत्रीय प्रहरी प्रमुख डीआईजी केशव अधिकारीले आन्दोलन नेतृत्वविहीन भएका कारण थप समस्या भएको बताए। उनले भने, ‘दसौं हजारको संख्यामा मानिसहरू सडकमा छन्। नेतृत्व गर्ने र आन्दोलनलाई परिचालन गर्ने खालका व्यक्ति नहुँदा सुरक्षामा चुनौती थपिएको छ। यस्तै अवस्था रहे ठूलो क्षति हुने खतरा पनि बढेको छ।’
अखण्ड मध्यपश्चिमको माग राख्दै कालिकोट र दैलेखमा पनि मंगलबार प्रदर्शन गरिएको छ।















प्रतिक्रिया