काठमाडौं, २६ साउन । मध्यपश्चिमाञ्चलका सभासदहरूले विभिन्न जिल्लाहरूमा चर्किएको आन्दोलनप्रति चिन्ता जनाउँदै सबैलाई संयम हुन आह्वान गरेका छन् ।
काठमाडौंमा आज भएको मध्यपश्चिमाञ्चलका सभासदहरूको भेलाले स्थानीयको माग र चाहना बमोजिम नै आफूहरू रहेको प्रतिवद्धता जनाएका हुन् ।
उनीहरूले जनभावनाको कदर गर्दै राज्य पुनःसंरचना र सिमाङ्कन गरिनुपर्ने पक्षमा आफूहरूलाई उभ्याएका छन् ।
एमालेका सभासद प्रकाश ज्वालाले अखण्ड मध्यपश्चिम प्रदेश भएमा आफूहरू कर्णाली प्रदेश र थारु क्षेत्रलाई विशेषाधिकार दिइ संरक्षित रुपमा राख्न सहमति भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अखण्ड मध्यपश्चिम भएमा थारु र कर्णाललाई संरक्षित विशेष क्षेत्र बनाइनेछ ।
राजधानी काहाँ बनाउने विषय पछि छलफल गरेर टुङ्गो लगाइनेछ । यदि अहिले कै संरचनामा जाने हो भने ६ नम्बर प्रदेशको राजधानी सुर्खेत र पाँच नम्बर प्रदेशको राजधानी दाङ बनाउन लाग्ने सहमति भएको छ ।’
मध्यपश्चिमका विभिन्न जिल्लाहरूमा आन्दोलन चर्किएपछि त्यसलाई सम्बोधन गर्न मध्यपश्चिम क्षेत्रका करीव चालीस जना सभासदहरूको भेला बसेको हो ।
भेलामा अधिकांस सभासदहरूले अखण्ड मध्यपश्चिमसहितको प्रदेश बनाउन जोड दिएका थिए ।
सभासदहरूले स्थानीय जनताको भावनाभन्दा बाहिर गएर आफूहरूले कुनै निर्णय गर्न नसक्ने भन्दै कसैको लहलहै नलाग्न आग्रह समेत गरेका छन् ।












प्रतिक्रिया