
काठमाडौं, २६ साउन । संविधानको सुझावसहितको मस्यौदामा आजदेखि संविधानसभामा छलफल हुँदैछ ।
अहिले केही समयपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा संविधानको सुझावसहितको मस्यौदामाथि छलफल हुनेछ ।
मस्यौदामा राज्य पुनःसंरचनाको विषय संघीय आयोगलाई दिने विषय उल्लेख छ । राज्य पुनःसंरचनाअन्तर्गत सिमाङ्कनमा थारु सभासद र मधेशी केन्द्रित दलका साथै विभिन्न दलका सभासदहरूलाई पनि मन परेको छैन ।
आजको बैठकमा थारु समुदायबाट प्रतिनिधित्व गर्ने थारु सभासदहरूले मस्यौदामा आफूहरूको असन्तुष्टीसहितको धारणा राख्नेछन् ।
उनीहरूले संविधानको प्राम्भीक मस्यौदाले आफूहरूलाई पारेको अन्याय र पीडाका विषयमा धारणा राख्ने सभासद रुक्मीणी चौधरीले जानकारी दिनुभयो । ‘हामीले संविधानसभा बहिष्कार गर्दैनौ’, उहाँले भन्नुभयो, ‘हाम्रा कुरा जोडदार रुपमा राख्छौँ । सडक र संविधानसभा दुबै मोर्चाबाट माग सम्बोधन गर्न दवाव दिन्छौं ।’
थारु सभासदका तर्फबाट आजको संविधानसभा बैठकमा तीन जना सभासादले धारणा राख्ने सभासद चौधरीले बताउनुभयो ।
त्यसै गरी, लोकतान्त्रिक मधेशी मोर्चाले भने संविधानसभाको बैठक बहिष्कार गर्ने जनाएको छ । सद्भावना पार्टीका सभासद एवम् सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार आजको बैठकमा धारणा राखेर मोर्चाका सबै सभासदहरू बाहिर निष्कने जानकारी दिनुभयो ।
‘हाम्रा मागलाई वेवास्ता गरिएको छ’, उहाँले भन्नुभयो, ‘माग सम्बोधन गराउन दवाव दिने उदेश्यले बैठक बहिष्कार गर्छौ ।’ मधेशी मोर्चाले पनि आन्दोलन गर्दै आएको छ ।












प्रतिक्रिया