
काठमाडौं, २५ साउन । अखण्ड मध्यपश्चिमको माग राख्दै सुर्खेतमा सुरु भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर नेकपा एमालेका स्थानीय नेतासहित तीन जनाको मृत्यु भएको छ ।
सुर्खेतमा प्रहरीले चलाएको गोलीबाट वीरेन्द्रनगर- ४ निवासी स्थानीय नेता टिकाराम गौतमको निधन भएको एमालेले जनाएको छ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले स्थानीय नेता गौतमको मृत्यु भएको पुष्टि गरे ।
एमाले स्थानीय नेतासहित प्रहरीको गोली लागेर सोही ठाउँका यामबहादुर बिसी र अर्का नाम नखुलेका स्थानीयको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए ।
टाउको गोली लागेर ढलेका दुवैलाई उपचारका लागि लैजादै गर्दा बाटैमा ज्यान गएको हो । नाम नखुलेका अर्का स्थानीयको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो । प्रदर्शनकारीले मध्यपश्चिम टुक्राउन भूमिका खेलेको भन्दै कांग्रेसका सह-महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न खोज्दा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।
प्रहरीको गोली लागेर ८ प्रदर्शनकारी गम्भीर घाइते भएका छन् ।
यसैबीच एमाले सचिव प्रदीप ज्ञवालीले सुर्खेतमा भएको दुर्घटनालाई दुःखद घटना भनेका छन् । दैनिक नेपालसँग कुरा गर्दै सचिव ज्ञवालीले जनताले आफ्नो माग राख्न पाउने अधिकार भएपनि घटनालाई उत्तेजित बनाइएकोमा दुःख व्यक्त गरे । ‘पार्टीका कार्यकर्ता र स्थानीयबासीको निधनमा दुःखी छौं’ उनले भने ।












प्रतिक्रिया