– दीपक ओली
धनगढी, २५ साउन । डडेल्धुरा र बैतडीका स्थानीयबासीको अवरोधका काररण दार्चुलामा उत्पादित अपि हाइड्रोपावर कम्पनीको साढे आठ मेगावाट विद्युत् खेर गइरहेको छ ।
दार्चुलाको देथला गाविस ४ स्थित नौगडगाड खोलाबाट निजी क्षेत्रको पहलमा अपि हाइड्रोपावर कम्पनीद्वारा नौगडगाड साना जलविद्युत आयोजनाले गएको ५ साउनमा विद्युत उत्पादन गरेको भएपनि राष्ट्रिय प्रसारण लाइन पर्ने क्षेत्रका स्थानीयले क्षतिपूर्तिमा विवाद गरेपछि उत्पादित विद्युत खेर गइरहेको हो ।
अपि हाइड्रोपावर कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच भएको ‘कनेक्सन एग्रिमेन्ट’ अनुसार कैलालीको अत्तरियादेखि आयोजनास्थलसम्म १ सय ३२ केभी प्रसारण लाइन नेपाल विद्युत प्राधिकरणले बनाइदिनुपर्ने उल्लेख छ । प्राधिकरणले सन् २०१३ सम्म सो प्रसारण लाइन बनाउन कोरियाली कम्पनीलाई जिम्मा दिएको थियो ।
सम्झौता अनुसार प्रसारण लाइन बनाउने जिम्मा पाएको कोरियाली कम्पनीले अत्तरियादेखि आयोजनास्थलसम्म १ सय ३१ ओटा टावर निर्माण गरिसकेको छ । तर, तार विस्तार गर्ने क्रममा डडेल्धुरा र बैतडीका केही क्षेत्रमा समस्या भएको छ ।
डडेल्धुरा सदरमुकाम आसपासमा छ किलोमिटर तथा बैतडीको चम्तडी र पञ्जोनयाँमा रहेको मन्दिरमाथिबाट तार तान्न स्थानीयले अवरोध गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न समस्या भएको अपि हाइड्रोपावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए ।
डडेल्धुरामा प्रसारण लाइनपर्ने क्षेत्रका केही स्थानीयले बढी क्षतिपूर्ति माग गरेर अवरोध गरेका छन् भने बैतडीमा मन्दिरका धामीले मन्दिर परिसरमा रहेका रुख काटे अनिष्ट हुने भन्दै अवरोध गरेपछि उत्पादित विद्युत खेर गएको छ अध्यक्ष न्यौपानेले धनगढीमा पत्रकारसँग भने ।
‘निजी क्षेत्रको पहलमा छोटो समयमै सफलतापूर्वक उत्पादित यो विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न सके सुदूरपश्चिमवासीलाई ठूलो राहत हुने थियो,’ अध्यक्ष न्यौपानेले भने, ‘तर, स्थानीयले स–साना कुरामा अनावश्यक बखेडा झिक्दा सुदूरपश्चिमबासीले लोडसेडिङ्को मार खेप्नुपरेको छ ।’
यो आयोजना एक अर्ब ४२ करोडको लागतमा २०७० भदौमा सुरु भई २०७२ साउन ५ गते सम्पन्न भएको थियो ।
प्रसारण लाइन बनाउने जिम्मा विद्युत प्राधिकरणको हो । हामीले निर्धारित समयमै आयोजना सम्पन्न गरेका छौं । तर, उत्पादित विद्युत खपत गर्न नपाउँदा ठूलो आर्थिक घाटाका साथै निजी क्षेत्रलाई काम गर्न हतोत्साहित बनाएको अध्यक्ष न्यौपानेले दुखेसो गरे ।
हाल सुदूरपश्चिममा भारतको टनकपुर, पिथौरागढ र धार्चुलाबाट विद्युत आपूर्ति हुँदै आएको छ । भारतबाट आपूर्ति गरिएको विद्युत् प्रतियुनिट चार रुपैयाँ छयासी पैसा भारुमा खरिद गरिएको छ भने नौगडगाडबाट उत्पादित अपिको विद्युत खरिद मूल्य प्रतियुनिट चार रुपैयाँ नेरु पर्नेछ ।
विद्युत् प्राधिकरण तथा अन्य सरकारी निकायको ढिलासुस्ती र लापरवाहीका कारण प्रसारण लाइन विस्तारमा समस्या उत्पन्न भई उत्पादित बिजुली उपभोग गर्न नपाएको यसक्षेत्रका उपभोक्ताको भनाई छ ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले प्रसारण लाइन क्षेत्रमा पर्ने ६२ जना मध्ये ४२ जनाले मुआब्जा लिइसकेको र बाँकीसँग मुआब्जाका विषयमा छलफल भइरहेको बताए ।
डडेल्धुराको समस्या लगभग समाधान हुनलागेको भएपनि बैतडीमा मन्दिरका धामीले देउता काँपेर जे भन्छ, त्यहिँ हुन्छ भनेर रुख काट्नमा समस्या उत्पन्न गरिरहेको विद्युत प्राधिकरणले जनाएको छ । लाइन विस्तारमा विवाद उत्पन्न भएपछि कोरियाली कम्पनीले विवाद समाधान नहुँदासम्म नफर्कने भन्दै हिँडिसकेको छ ।















प्रतिक्रिया