४ कार्तिक २०८३, बुधबार

संघीयताको उद्देश्य राष्ट्र विभाजन: केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chitra_bahadur_Kcकाठमाडौं, २५ साउन । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको भित्री उद्देश्य राष्ट्र विभाजन नै रहेको दाबी गरेका छन्।

विशेष समितिमा रहेका शीर्ष नेताले शनिबार ६ प्रदेशको सीमांकन गर्दा बागलुङलाई दुई भागमा विभाजन गरेपछि अन्नपूर्णसँगको कुराकानीमा अध्यक्ष केसीले भने, ‘मैले पहिलो संविधान सभादेखिनै संघीयताको उद्देश्य राष्ट्र विभाजन भनेको थिएँ। त्यो कुरा आज सत्य भयो।’

प्रमुख दलका शीर्ष नेताहरू अविवेकी भएपछि मुलुक विभाजन हुनु ठूलो कुरा नभएको भन्दै उनले थपे, ‘विदेशीको इसारामा यो मुलुकको एकता, अखण्डता र स्वाभिमानमाथि प्रहार भइरहेको छ।’

राष्ट्र विभाजनको प्रयोग बागलुङबाट भएको दाबी उनको छ। अँध्यारो कोठाबाट मुलुक विभाजनको अध्याय आरम्भ गरिएको केसीको दाबी थियो ।

दलहरुले जेठ २५ गते राति प्रदेश सीमांकन आयोगबाट गर्ने भने तर त्यो निर्णयमा शीर्ष नेता आफैंले दुई महिनापछि किन र के उद्देश्यका लागि गरे, यसतर्फ नेपाली जनताको सजगता आवश्यक रहेको उनले बताए।

नागरिकतामा विदेशीलाई दिएको प्राथमिकता र जिल्ला विभाजनको प्रारम्भको जिम्मेवारी संघीयताका पक्षमा मत दिनेले लिनुपर्नेमा केसीको जोड थियो।

संघीयताका पक्षमा रहेकाहरूले आफ्नो खुट्टामा आफैंले बन्चरो हानेको उदाहरणका रुपमा आफूले सीमांकनलाई लिएको केसीले बताए।

यो मुलुकमा पृथकतावादी र जातिवादीले टाउको उठाउने आधार पनि शनिबार गरिएको प्रदेशको सीमांकनबाटै भएको उनको तर्क थियो।

बागलुङ एकताका लागि आफूहरु अन्तिमसम्म आन्दोलित रहने उद्घोष केसीको थियो।