८ कार्तिक २०८३, आइतबार

समाजले पनि अपराधसँग जुध्न सक्नुपर्छ : प्रहरीप्रमुख अर्याल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-Kanta-Aryalपरासी, २३ साउन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अब समाजले पनि अपराधसँग जुध्ने क्षमताको विकास गर्नुपर्ने विचार राख्नुभएको छ ।

नवलपरासीको रामनगरस्थित जर्गाहमा स्थापना गरिएको नेपाल प्रहरीको पहिलो अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्रको शनिबार शुभारम्भ गर्दै अर्यालले भन्नुभयो अब अपराधसँग जुध्नु सरकार र समाज दुवैको दायित्व हो ।

प्रहरी युक्ति तालिम महाविद्यालय नामाकरण गरिएको सो तालिम केन्द्रको शुभारम्भ गर्दै अर्यालले प्रहरी सधैँ जनताको सेवामा समर्पित रहेको बताउनुभयो । जनतालाई शान्ति सुरक्षा प्रदान गर्नु प्रहरीको दायित्व रहेको भन्दै अर्यालले जनतालाई शान्ति सुरक्षा प्रदान गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने दाबी गर्नुभयो ।

देशमा सूचना प्रविधिको विकाससँगै सुरक्षामा चुनौती थपिएको जिकिर गर्दै महानिरीक्षक अर्यालले त्यसको सामना गर्न नेपाल प्रहरीको पहिलो अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।

कार्यक्रममा आफ्नो क्षेत्रमा महाविद्यालय स्थापना भएका कारण यसलाई बोझ नमान्नुहोला, हामी यस क्षेत्रको सहयोगीको रुपमा बस्न चाहन्छौँ, अर्यालले स्थानीय बासिन्दासँग भन्नुभयो ।

विमान अपहरण, अपहरण, संसद् भवनमाथि आक्रमण, भूकम्पलगायतका विशेषक्षेत्रको सुरक्षा मजबुत बनाउन जनशक्ति तयार गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्र सञ्चालनमा आएको हो ।

लामो समयसम्म प्रहरी प्रधान कार्यालयमा रहेको सो केन्द्र हालै नवलपरासी ल्याइएको थियो । यसैबीच, प्रहरी महानिरीक्षक अर्यालले आजै सो तालिम केन्द्रमा हतियार सन्चालन पहिलो समूहको तालिमको समेत उद्घाटन गर्नुभयो ।

तालिममा पाँचै विकास क्षेत्रका विभिन्न प्रहरी एकाइबाट दुई जना प्रहरी सहायक निरीक्षक, पाँच जना हवल्दार र ४३ जना प्रहरीजवान गरी ५० जना सहभागी रहेको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले बताउनुभयो ।

थापाका अनुसार तालिममा नेपाल प्रहरीले प्रयोगमा ल्याएका सबै परम्परागत तथा आधुनिक हतियारसम्बन्धी प्रशिक्षण प्रदान गरिने लक्ष्य रहेको छ । ३४ बिगाहा क्षेत्रफलमा फैलिएको उक्त तालिम केन्द्र रहेको जग्गा २०७१ पुस १४ गते नेपाली सेनाले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो । रासस