फलेवास (पर्वत), २२ साउन । पर्वतको देउराली–६ को सिङ्गो गाउँ पहिरोको जोखिममा रहेको छ । गत ८ असारदेखि गाउँ माथिबाट निरन्तर पहिरो बग्न थालेपछि सिङ्गो गाउँ पहिरोको जोखिममा परेको हो ।
देउराली- ६ को जयले गाउँका १८ परिवार पहिरोको खतरामा परेका हुन् । पहिरोका कारण स्थानीय नेत्रकुमारी शर्माको घर पूर्ण रुपमा पुरिएको छ भने पीताम्बर चापागार्इं, कृष्णप्रसाद चापागार्इं र तुलसीप्रसाद पौडेल विस्थापित भइसकेका छन् । यसरी पहिरोबाट विस्थापित बनेका परिवारहरु छिमेकीको शरणमा बस्न बाध्य भएका छन् । भूकम्पका कारण ठाउँठाउँमा चर्किएको पहाड नै खसेपछि सिङ्गो गाउँ जोखिममा परेको हो ।
गतवर्ष सामान्य रुपमा उक्त पहाड चर्किएर लेदो खसे पनि यसवर्ष ठूलो क्षेत्रफल ओगटेर पहिरो गएको हो । पहिरोका कारण खानेपानी पूर्ण रुपमा क्षति भएको छ । करिब एक महिनाअघिदेखि खानेपानीको अभाव खड्किएपछि स्थानीयवासी पानीकै खोजिमा खोला खोल्सी धाउन बाध्य भएका छन् । “जरुवा र खोला खोल्सिमा नधाएसम्म पानी मुखमा पर्दैन” – स्थानीय शिक्षक एकनाथ शर्माले भन्नुभयो – “पहिरोका कारण व्यवस्थित बासको सम्भावना त छैन नै त्यसैमा पनि खानेपानीसमेत छैन ।”
सोही पहिरोले खानेपानीको मुहान बगाएको थियो भने अर्कोतर्फ बिजुली बत्तीमा पनि क्षति पुगेको छ । उक्त पहिरोमा अहिले सुक्खा मौसममा पनि गाउँमाथिबाट समय समयमा ढुङ्गा माटो बग्ने गरेको छ । आकाशमा कालो बादल देखिनासाथ यहाँका गाउँवासी घर छाडेर अन्यत्र जानुपर्ने अवस्था आएको कुँडुले गाउँका समाजसेवी तीर्थराज सुवेदीले बताउनुभयो ।
जिल्ला दैवी प्रकोप उद्धार समितिबाट माग भई क्षेत्रीय प्रशासन कार्यालय पोखराले जयले गाउँका पीडितलाई चारवटा अस्थायी घर निर्माणका लागि मेटल टहरा र २० थान त्रिपाल वितरण गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले तत्कालीन अवस्थामा उपलब्ध भएका मेटल टहरा उपलब्ध गराइएको र थप आवश्यक परेमा त्यहाँको जोखिममा परेका बासिन्दालाई अन्य विकल्प अपनाउन पहल गर्ने आश्वासन दिनुभयो । रासस















प्रतिक्रिया