३० आश्विन २०८३, शुक्रबार

अबैध चिनियाँ मोटरसाइकललाई कानुनी दायरामा ल्याइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinese-Motorcycleमुस्ताङ, २२ साउन । उपल्लो मुस्ताङका छ गाविसमा सञ्चालनमा रहेका करिब ४०० अवैध चिनियाँ मोटरसाइकललाई कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु भएको छ ।

सरकारी निगरानी नहुँदा लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, सुर्खाङ र घमी गाविसमा वर्षौंदेखि अवैधरुपमा चिनियाँ मोटरसाइकल सञ्चालन भइरहेका छन् । सीमा प्रशासन कार्यालय र भन्सार कार्यालयले स्थानीय मोटरसाइकलका धनीहरुसँग छलफल गरी कानुनी दायरामा ल्याउने प्रक्रिया सुरु गरेको हो ।

यी दुई कार्यालय सदरमुकाम केन्द्रित हुँदा कोरला नाकाबाट ती मोटरसाइकल भित्रिएको बताइएको छ । उपल्लो मुस्ताङ र चिनियाँ व्यापारीबीच वर्षको दुईपटक आयोजना हुने व्यापारिक मेलामा भन्सार शुल्क नतिरी स्थानीयले घोडा बेचेर ती मोटरसाइकल खरिद गरेको पाइएको सीमा प्रशासन कार्यालय लोमान्थाङका प्रमुख कृष्णराज ढकालले जानकारी दिनुभयो ।

सरकारले गत असार महिनामा सीमा प्रशासन र भन्सार कार्यालय दुवै सञ्चालनमा ल्याएपछि अवैध मोटरसाइकललाई कानुनी प्रक्रियामा ल्याउने पहल सुरु भएको प्रमुख ढकालको भनाइ छ । “त्यसका लागि स्थानीयवासीसँग पहिलो चरणमा छलफल गरेका छौँ,” प्रमुख ढकालले भन्नुभयो, “भदौ २२ गतेभित्र हामीले यो काम गर्नेछौँ ।”

तोकिएको मितिसम्म मोटरसाइकल नबुझाए उक्त मोटरसाइकललाई नियन्त्रणमा लिएर लिलामी प्रक्रिया सुरु गरिने प्रशासनले जनाएको छ । भन्सार शुल्क तिर्न नपर्ने भएपछि स्थानीयवासीले आफूले वर्षौंदेखि प्रयोग गर्दै आएका घोडा बेचेर मोटरसाइकल खरिद गरेका थिए ।

उपल्लो मुस्ताङमा कालीगण्डकी करिडोरअन्तर्गत सडक विस्तार भएसँगै ती मोटरसाइकल भित्रिएको प्रशासनले जनाएको छ । रासस