– नरेन्द्रसिंह कार्की
दार्चुला, २२ साउन । विहीबार रातीदेखिको अवरिल वर्षाका कारण महाकाली लोकमार्गको विभिन्न ठाउँमा सडक अवरुद्ध भएको छ ।
महाकाली लोकमार्गको गोकुलेश्वरदेखि खलंगासम्म तीन ठाउँमा सडक अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । महाकाली लोकमार्गको दत्तु गाविसको चुच्चै, ग्वानी गाविसको पनेबाज र चैतोली चोरमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनायो ।
अवरुद्ध सडक खुलाउन सडक विभागको जेसिवी तथा प्रहरी परिचालन गरिएको छ । अहिलेसम्म पनेबाजमा सडक खुलेपनि चौतली चौर र चुच्चैमा सडक खुलाउन बाँकी छ । सडक खुलाउने प्रयास भइरहेको छ ।
सडक अवरुद्ध हुँदा जीप तथा बसहरु चल्न सकेका छैनन् । यात्रुहरुबीच बाटोमै अलपत्र परेका छन् । नेपालतिर सडक अवरुद्ध हुँदा तराइको लागि जाने यात्रुहरु भारतीय बाटो हुँदै गएका छन् ।
यस्तै तिंकर सडक खण्डको कलौना भीरमा पुनः पहिरो गएको छ । केही दिन अघि सशस्त्र प्रहरीले खोलेको बाटो अवरुद्ध भएको स्थानीय देव बहादुर बमले बताए । अहिले दुहु क्षेत्रका आधा दर्जन गाविस स्थानीयको आवत जावत ठप्प भएको छ । भारतले तुइन सञ्चालनमा रोक लगाएपछि दुहु क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
कलौना भीरको सडक अवरुद्ध हुँदा दुहु क्षेत्रबाट खलंगा पढ्न आउने विद्यार्थी समस्यामा परेको बमले बताए । सडक खुलाउन दार्चुला तिंकर सडक, अपी नगरपालिका र जिल्ला प्रशासनलाई आग्रह गरिएको छ ।
सडक कार्यालयले सडक खुलाउने आश्वासन दिएपनि काम सञ्चालन गरेको छैन । सडक खुल्न ढिलाइ भए दुहु क्षेत्रमा खाद्य संकट देखिने स्थानीय शेरसिह धामीले बताए । खच्चडमार्फत ढुवानी हुने चामल नुन ढुवानी हुन सकेको छैन । महाकाली नदीमा पानीको वहाव बढेका कारण भारतीय एसएसीबीले तुइन काटिदिएको छ ।















प्रतिक्रिया