महेन्द्रनगर, २२ साउन । सङ्घीय प्रदेशमा कैलालीलाई टुक्र्याएर अन्य प्रदेशमा गाभ्न लागिएको भन्दै त्यसको विरोधमा आजबाट अनिश्चितकालीन सुदूरपश्चिम बन्दको आह्वान गरिएको छ ।
अखण्ड सुदूरपश्चिम पक्षधरको आह्वानमा भएको बन्दको कारण यातायात, उद्योग-व्यवसाय, शैक्षिक संस्था ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।
अखण्ड सुदूरपश्चिम पक्षधरले बन्दको आह्वान गरेपछि कैलाली जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी, राप्रपा, राप्रपा नेपाल लगायतका दलले बिहीबार संयुक्त रुपमा विज्ञप्ति प्रकाशत गरी सङ्घीयतामा अखण्ड सुदूरपश्चिम एक प्रदेश हुनुपर्ने माग गर्दै बन्दलाई ऐक्यबद्धता जाहेर गरेका छन् ।
यस्तै, कञ्चनपुरका उद्योगी, व्यवसायी, विद्यार्थी पनि संयुक्त प्रदर्शनमा उत्रिएका छन् । बन्दको आव्हान गर्दै सयौं युवाहरु अखण्ड सुदूरपश्चिमका लागि सकडमा उत्रिएका हुन् । अखण्ड सुदूरपश्चिमको माग राख्दै कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर, झलारी, वाणी र गुलरियामा अखण्ड सुदूरपश्चिम पक्षधरले अहिले प्रदर्शन गरिरहेको अखण्ड सुदूरपश्चिम पक्षधरका एक सदस्य अर्जुन साउदले जानकारी दिनुभयो ।
‘सुदूरपश्चिमलाई अखण्ड एक प्रदेश बनाउन दबाब दिने उद्देश्यले यहाँ व्यापारी, विद्यार्थी बुद्धिजिवी स्वस्फूर्त रुपमा आन्दोलनमा सहभागी भएका छन् ।’ उनले भने । उनका अनुसार अहिले सयौंको संख्यामा सडकमा उत्रिएर अखण्ड सुदूरपश्चिम पक्षधरले कैलाली र कञ्चनपुरमा जनप्रदर्शन गरिरहेका छन् । कैलाली जस्तै कञ्चनपुरमा पनि अखण्ड सुदूरपश्चिमका लागि आन्दोलन सुरु भएको उनले बताए ।
















प्रतिक्रिया