८ कार्तिक २०८३, आइतबार

सुदूरपश्चिम नटुक्य्राउन काँग्रेस, एमाले र एमाओवादीका विद्यार्थी संगठनको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sudur

काठमाडौँ, २१ साउन । प्रमुख ठूला तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)का युवाविद्यार्थी सङ्गठनले सङ्घीय प्रदेश निर्माण गर्दा अखण्ड सुदूरपश्चिमलाई नटुक्य्राउन माग गरेका छन् ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले कैलाली र कञ्चनपुरका डगौरा र राना थारुको लागि विशेषाधिकार संविधानमै उल्लेख गरेर अखण्ड सुदूरपश्चिमलाई अक्षुष्ण राख्नुपर्ने सुझाएका हुन् ।

सुदूरपश्चिम विकास आयोगका संस्थापक अध्यक्ष झपट बोहराले देशलाई विभाजन गरेर मुठभेड गर्नेभन्दा संविधानलाई दिगो र मर्यादित बनाउन आफूहरुले आन्दोलन गर्ने अवस्था आएको विचार व्यक्त गर्नुभयो ।

युवा सङ्घका सचिव वचनबहादुर सिंहले सरकारले २०६९ साल जेठ १ गते गरेको सहमति विपरीत गए त्यो मुलुकको लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिनुभयो । नेविसङ्घका पूर्व कावा अध्यक्ष क्षितिज भण्डारीले शीर्ष नेतालाई आफूहरुको भावना माथि खेलवाड नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य नृप सुनार, एमाओवादीका युवा नेता ओमविक्रम भाट, अनेरास्ववियुका केन्द्रीय सदस्य कमला बोहरा, अखिल क्रान्तिकारीका अमरसिंह धामी, सेती महाकाली राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य पदमराज जोशीलगायतले अखण्ड सुदूरपश्चिममा सम्झौता हुन नसक्ने धारणा राख्नुभयो । रासस