८ कार्तिक २०८३, आइतबार

राप्ती नदी पीडित भन्छन्- ‘पानीसँगै सपना सबै बगायोे’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

badhi-nepalgung (1)

– विश्वराज पछल्डङ्ग्या
फत्तेपुर (बाँके), २१ साउन । फत्तेपुर गाविस-७, भवनियापुरका करिव ६५ वर्षीय खज्जु सार्ईँ रातभर निदाउन सक्दैनन् । उनको घरदेखि राप्ती नदी करिव एक सय मिटर मात्र टाढा छ । त्यसैले त उनी निदाएको बेला समेत बाढी आयोकी भनेर घरिघरि झस्किन्छन् अनि ब्यूझिन्छन् पनि ।

गत वर्ष साउन २९ गते राप्ती नदीमा आएको बाढीले घरमा भएका सम्पूर्ण चिज, बस्तु बगाएर लगेपछि उनको मनबाट अहिलेसम्म राप्ती नदीको त्रास हटेको छैन । परिवारका सदस्य पालैपालो जाग्राम बस्ने गरेको साईँले बताए । उनले भने, ‘एक घण्टा सुत्ने, एक घण्टा जाग्राम बस्ने । पालैपालो सुत्ने गरेका छौँ ।’

पोहोर सालको बाढीपछि राप्ती नदीको एउटा भङ्गालो भवनियापुर, पहाडीपुर र शान्तिपुर तिर लागेपछि उनको ग्रहदशा शुरु भएको हो । नदी सुसाएर उनको निद्रा हराम समेत गरेको छ । साईँले भने, ‘कुन समयमा राप्तीमा बाढी आउँछ भन्दै सुत्दै गरेका छौँ । नदी सुसाएर सुत्नै सकिदैन ।’

बाढीले घर भत्काई दिएपछि उनले घर केही पर सारेका छन् । नदी आए आफू, परिवार र महत्वपूर्ण बस्तुको सुरक्षा गर्न उनले योजनासमेत बनाई सकेका छन् । उनले भने, ‘कसरी सुरक्षित हुन सकिन्छ ? त्यसको पूर्व तयारी गरिसकेको छौँ ।’

फत्तेपुर गाविस-७, पहाडीपुरका भागुराम थारु पनि रातभर निदाउन सक्दैनन् । गत वर्ष आएको बाढीले घरसमेत बगाएपछि उनी पनि निदाउन नसकेका हुन् । पानीको हांगा नहुने भएकोले उसको कुनै भर नहुने भन्दै उनी होसियारीका साथ बसेका छन् । उनले भने, ‘बाढी आइहाले कसरी र कता भाग्ने पूर्वतयारी समेत गरिसकेका छौँ ।’

badhi-nepalgung (2)

पोहोर सालको बाढीले घरमा भएका सम्पूर्ण अन्नपात बगाएपछि यसपालीसाउन नलाग्दै उनले अन्नपात सुरक्षित ठाउँमा सारेका छन् । ‘लालपूर्जा, नागरिकताको प्रमाणपत्र, छोराछोरीको किताव, कापी लगायतका महत्वपूर्ण बस्तु तुरुन्त भेटिने ठाउँमा राखेको छु,’ उनले भने, ‘अन्नपात सुरक्षित ठाउँमा सारिसकेका छौँ ।’

राप्ती नदीको एउटा भङ्गालो शान्तिपुर र पहाडीपुरका गाउँ छेउमा पुगेपछि त्यस ठाउँका अधिकांश परिवार सोनपुर लगायत अन्य सुरक्षित ठाउँमा सरेका छन् । कुन बेला बाढी आउने निश्चित नभएपछि अधिकांश परिवार घरमा ताला लगाएर हिडेका स्थानीय विमला शाहीले जानकारी दिइन् । ‘रातविरात बाढी आउन सक्ने भएकोले अधिकांश परिवार सुरक्षित ठाउँमा सरिसकेका छन्,’ शाहीले भनिन्, ‘बाँकी घर परिवार पनि सर्ने तरखरमा छन् ।’

मोति सरदारको परिवार दिनभर फत्तेपुर गाविस-७, शान्तिपुर स्थित घरमा बसेपनि सुत्न सुनपुरस्थित अस्थायी टहरामा पुग्छिन् । ‘दिउँसो नदी आएको देख्न सकिने र सुरक्षित ठाउँमा भाग्न सजिलो हुने भएकोले शान्तिपुर स्थित घरमा बस्छौँ,’ उनले भनिन्, ‘बाढीले उठिबास बनाएपछि हामी घर न घाटका भएका छौँ ।’

असार लागेदेखि नै घर सुरक्षार्थ एक/दुईजना मात्र स्थायी घरमा बस्ने गरेको स्थानीय विजुली गिरीले बताइन् । ‘खेतबारी यतै छ, घर र अन्नवाली जोगाउन एक/दुईजना मात्र यता बस्छौँ,’ गिरीले भनिन् ।

राप्ती नदीमा सानो बाढी आउनासाथ शान्तिपुर, भवनियापुर र पहाडीपुरका घर डुवानमा पर्ने भएका छन् । राप्ती नदीको भङ्गालो सिधै गाउँतर्फ सोझिएकोले ति गाउँका साथै गंगापुर गाविसका अधिकांश गाउँ पनि डुवानमा पर्ने खतरा छ । त्यसैले उक्त भङ्गालोले गर्ने क्षति कम गर्न सरोकारवाला निकायले समयमै पहल गर्नुपर्ने देखिएको छ ।