३० आश्विन २०८३, शुक्रबार

दमक-रवि सडक (फाल्गुनन्द मार्ग) को ट्रयाक खुल्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadak-damakदमक, २१ साउन । झापा र मेची अञ्चलका पहाडी जिल्ला जोड्ने दमक–चिसोपानी–रवि (फाल्गुनन्द मार्ग) को सिङ्गल ट्र्याक खुलेको छ ।

निर्माण समितिले आज दमकमा पत्रकार सम्मेलन गर्दै सडकको रतुवा खोला किनारमा बाँकी रहेको चार किलोमिटर सडकको सिङ्गल ट्र्याक खुलाउने कार्य पूरा भएको जानकारी गराएको हो ।

सो सडकको साउन महिनाको अन्तिम साता अर्थमन्त्री डा रामशरण महतले स्थलगत निरिक्षणसमेत गर्ने कार्यक्रम रहेको समितिका अध्यक्ष रेवतराज पुरी (गगन) ले बताउनुभयो । दुई दशकअघिदेखि निर्माण सुरु भएको दमक–चिसोपानी सडकखण्डको पहिलोपटक पूरै ट्र्याक खुला भएकाले आउँदो वर्षदेखि बाह्रैमास सोही मार्गबाट गाडी गुडाउने अध्यक्ष पुरीको भनाइ छ ।

यस सडकको चुरे क्षेत्रमा पर्ने करिब दश किलोमिटर दूरीमा ट्र्याक खोल्न भौगोलिक कारणले समेत जटिल भएकाले अहिलेसम्म ट्र्याक खुल्न सकेको थिएन । ट्र्याक नखुल्दा यस क्षेत्रका हजारौँ यात्रु दैनिक रतुवाखोलाको बगरैबगर भएर ७२ पटकसम्म रतुवा नदी तरेर ट्याक्सी तथा अन्य सवारी साधनबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । करिब ४३ किलोमिटर दूरी रहेको दमकदेखि रविसम्मको बाटोको ट्र्याक खुलेपछि यात्रुलाई सुविधा हुने भएको पुरी बताउनुहुन्छ ।

पत्रकार सम्मेलनमा समितिले चालु आवमा रु ३२ करोड ४६ लाख बराबरको सडक स्तरोन्नतिको काम हुने जानकारी गराएको छ । सरकारले सो सडकलाई बहुवर्षीय योजनामा राखेपछि यो सडकको विस्तृत सर्भे भएसँगै यसै आवदेखि पहिलो प्राथमिकतामा परेपछि यति धेरै बजेटबाट पहिलो पटक काम हुन लागेको जनाइएको छ । त्यसैगरी, यस क्षेत्रको दमकखण्डमा पर्ने डेढ किलोमिटर सडकको कालोपत्र गर्ने कामसमेत सुरु भएको जनाइएको छ ।

यसैगरी, समितिले दमक–१ को बसपार्क क्षेत्रमा आधुनिक बसपार्क निर्माण गर्न लागिएको जनाएको छ । समितिको स्वामित्वमा रहेको दुई कट्ठा १५ धुर जग्गामा दुईतले पक्की भवन बनाउन आवश्यक पहल थालेको अध्यक्ष पुरीले जानकारी दिनुभयो । रासस