महेन्द्रनगर, २० साउन । चार राजनीतिक दलले आफूखुसी निर्णय गरि सुदूरपश्चिमको मौजुदा संरचना टुक्राउने निर्णय गर्न लागेको भन्दै राप्रपा नेपालले त्यसको विरोध गरेको छ ।
राप्रपा नेपालका केन्द्रीय सदस्य हेमबाबु लेखकले एक विज्ञप्ती जारी गर्दै काँग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाद्वारा गरिन लागेको उक्त निर्णयको विरोध गरेका हुन् । विज्ञप्तीमा सदियौदेखि भाइचारा, सदभाव र सहिष्णुतासहित बस्दै आएका सुदूरपश्चिमेलीहरुलाई उनीहरुको भावना विपरित कैलालीको केही भूभाग बाँके, बर्दिया, नवलपरासीसँग जोड्दा सुदूरपश्चिमेली नागरिकहरुको भावना र अखण्ड सुदूरपश्चिमका लागि भएको ३३ दिने आन्दोलनको मर्ममाथिको कुठाराघात हुने उल्लेख छ ।
‘२०६९ सालमा भएको ३३ दिने आन्दोलनका आन्दोलनकारीसँग अखण्ड सुदूरपश्चिम राज्य नै निर्माण हुने भनी गरिएको सम्झौतामा हस्ताक्षर गर्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, तत्कालिन एमाले अध्यक्ष झलनाथ खनाल र काँग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोईराला स्वयंले यस्तो निर्णय गर्नु सुदूरपश्चिमप्रतिको धोका हो ।’ लेखकद्वारा जारी विज्ञप्तीमा भनिएको छ,-‘यदि संविधानको पहिलो मस्यौदामा पेशभएका सुदूरपश्चिमेली नागरिकका अखण्ड सुदूरपश्चिम पक्षमा प्रकट भएका सुझाव, २०६९ सालमा भएको राजनीतिक दल र सरकारसितको लिखित सहमति विपरित सुदूरपश्चिमको मौजुदा संरचनामा कुनै त्रुटि भए त्यो दलहरुका लागि अभिशाप हुनेछ ।’
ठूला दलहरु वर्षौदेखि पछाडि पारिएका थारुसमुदायको मत प्राप्त गर्ने कुटिल षडयन्त्रमा लागेको र संघीय राज्यमा पनि उनीहरुको सदभावनालाई आफै शासन गर्ने मनस्थितिले सुदूरपश्चिम टुक्राउन लागेको विज्ञप्तीमा उल्लेख छ ।
यदि नियत सफा छ भने नौजिल्लाकै सुदूरपश्चिम राज्य बनाएर पहिलो मुख्यमन्त्री थारुसमुदायबाट बनाउने कुरामा सहमति जनाउन काँग्रेस, एमाले र एमाओवादीका नेतालाई राप्रपा नेपालका केन्द्रीय सदस्य हेमबाबु लेखकले चुनौती दिएका छन् ।















प्रतिक्रिया