कास्की, २० साउन । आफ्नै गाउँका साथी नेपाल सरकारको मुख्यसचिवमा नियुक्त भएपछि कास्कीको उत्तरपूर्वी थुम्की–६, खेलुङ्गामा खुसियाली छाएको छ ।
आफ्नो जेठो छोरा सोमलाल सुवेदी नेपाल सरकारको उच्च पदमा पुगेपछि सबैभन्दा खुसी उहाँकी ७० वर्षीया आमा सरस्वती सुवेदी हुनुभएको छ ।
दुख गरेर पढाएको छोराको प्रगति सुन्दै आउनुभएकी आमाले छोरा मुख्यसचिव भएपछि टेलिफोनमा रासससँग भन्नुभयो, “छोराले मेरो कोख र कुल धन्य बनायो ।”
हरेक दशैँमा र पोखरामा आउँदा आमाको मुख हेर्न आउने गरेको बताउँदै आमा सरस्वतीले थप्नुभयो, “हामीलाई केही चाहिएको छैन, देशको लागि राम्रो गरोस् ।”
छिमेकी प्रकाशमोहन खनालले मुख्यसचिवमा सोमलाल चयन हुनु पश्चिमाञ्चल क्षेत्र कै गौरवको विषय भएको धारणा राख्नु भयोे । मेहनत र लगनले सामान्य परिवारको मान्छेसमेत ठूलो प्रगति गर्न सक्छ भन्ने उदाहरणले आउँदो पुस्तालाई ऊर्जा थप्ने विश्वास पनि खनालले व्यक्त गर्नुभयो ।
मुख्यसचिव सुवेदी कास्कीमा समेत सादगी जीवनको लागि उदाहरणीय मानिनुहुन्छ । युवा पत्रकार राजबहादुर गुरुङका अनुसार नेपाल सरकारको सचिव पदमा पुग्दासमेत उहाँले नातावादलाई ध्यान दिनुभएन ।
सुवेदीका माइला भाई माधव सुवेदी मावि द्वितीय दरबन्दीमा शिक्षक हुनुहुन्छ । साइला भाई राजेन्द्र जिल्ला विकास समिति मनाङमा कम्युटर अपरेटर पदमा कार्यरत हुनुहुन्छ भने स्नातकोत्तर पढ्दै गरेका कान्छा भाई दीपक गाउँकै विद्यालयमा पढाउने काम गर्नुहुन्छ ।
“हामीलाई दाईले सधैँ आफ्नो लागि आफँैले जागिर खानुपर्छ भन्नुहुन्छ, हामीले पनि दाईलाई भनसुनको लागि कुरै गरेनौँ ।,” साइला भाई राजेन्द्रले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी स्वच्छ छवि कायम राख्नु र सुशासन कायम गराउने दिशामा नवनियुक्त मुख्य सचिवले चाल्ने कदमले नै उहाँबारे थप टिप्पणी गर्न सकिने बताउनुहुन्छ । रासस















प्रतिक्रिया