काठमाडौं, २० साउन । ८ प्रदेश बनाउने निर्णयसहित १६बुँदे सहमतिमा हस्ताक्षर गरेका प्रमुख चार दल अन्तिम समयमा ६ प्रदेशमा झरेका छन् ।
जनताको सुझावलाई मध्यनजर गर्दै प्रमुख चार दलबीच भएको नयाँ सहमति अनुसार पहाडमा मधेससँग जोडिएका चार प्रदेश र मधेशमा दूई प्रदेश गरी जम्मा ६ प्रदेश निर्माण गरिन लागेको हो । ६ प्रदेश बनाउने सहमति भए पनि सीमाङ्कनमा अझै सहमति भइसकेको छैन् ।
सीमाङकनको विवादमा रहेका पाँच जिल्ला पूर्वका झापा, मोरंङ, सुनसरी तथा पश्चिमका कैलाली र कञ्चनपुरको टुङ्गो लाग्न नसकेको हो । जसमा पश्चिमका कैलाली र कञ्चनपुरको विवाद चर्किएको हो । सुदूरपश्चिमलाई अखण्ड राख्न नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अडान लिएपछि सहमति हुन नसकेको हो ।
यता एमाओवादी र मधेसवादी दल भने कैलाली र कञ्चनपुरलाई नेपालगञ्जसँग जोडेर थारुवान प्रदेश बनाउनुपर्ने अडानमा छन् । त्यसो नभए कैलालीलाई मात्रै विभाजन गरेर पहाडे बाहुल वस्ती भएको भाग पश्चिम प्रदेशमा र थारु बाहुल भाग मधेशको नवलपरासीदेखि पश्चिम प्रदेशमा राख्नुपर्ने अडानमा छन् ।
जसका कारण सहमति हुन नसकेको शीर्ष नेताको बैठकमा सहभागी एक नेताले दैनिक नेपाललाई बताए । ‘दुबै तर्फबाट अडान लिइएको छ, दुबैलाई सहमतिमा ल्याउने प्रयास अन्तर्गत सुदूरपश्चिमबाट कैलाली अल्ग्याउनुपर्ने दबाब सिर्जना भएको छ ।’ उनले भने ।
ती नेताको भनाई अनुसार सुदूरपश्चिम टुक्र्याउन एमाओवादी र मधेसवादी दलले शेरबहादुर र भीम रावललाई तीव्र दबाब दिइरहेको छन् । यदि देउवा र रावल पछाडि हटे कैलाली सुदूरपश्चिमबाट अलग हुने छ । अर्थात सुदूरपश्चिमलाई टुक्र्याइने छ ।
विवादित तराईका जिल्ला मध्ये झापा, मोरङ, र सुनसरीलाई भने पहाडका जिल्ला राखेर पूर्वी प्रदेश बनाउने सहमति भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले अडान लिएपछि एमाओवादी पछि हट्दा सहमति भएको हो ।
मंगलबार एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष प्रचण्ड र कांग्रेसका महामन्त्री सिटौलाले झापा, मोरङ र सुनसरीलाई पहाडका जिल्लासहित पूर्वी प्रदेशमा राख्ने सहमति गरेका थिए ।















प्रतिक्रिया