८ कार्तिक २०८३, आइतबार

प्यूठान–बागलुङ सडकको ट्र्याक खुल्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठान, २० साउन । सरकारको सडक योजनाअन्तर्गत पहिलो प्राथमिकतामा राखेको प्यूठान–बागलुङ सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ ।

सडक ट्र्याक खोल्ने कार्य सम्पन्न भएपछि यस आर्थिक वर्षमा सडकको चौडा पार्ने र पर्खाल तथा जाली लगाउने काम हुने सडक डिभिजन कार्यालय जस्पुलले जनाएको छ ।

आर्थिक वर्ष २०७१/७२ मा तीन करोडसम्म काम गर्न सक्ने गरी बहुवर्षीय योजनामा समावेश भएको सडकको झन्डै रु ७० लाख लागतमा ट्र्याक खोल्ने कार्य सकिएको डिभिजन प्रमुख घनश्याम गौतमले बताउनुभयो ।

“सडक विभागले कामको आधारमा बजेट थप गर्ने गरी बजेटको व्यवस्था गरेको थियो”, डिभिजन प्रमुख गौतमले भन्नुभयो, “ढिलो कामको सुरु हुँदा सडकको ट्र्याक खोल्नेबाहेक अन्य कार्य भएको छैन । असार मसान्तसम्ममा सडक जोड्ने लक्ष्य राखेकामा ढिलो गरी भए पनि सडकको निर्माण कार्य पूरा भएको छ ।”

सडक डिभिजन कार्यालय प्यूठानमा प्यूठान–बागदुला–ठूलाबेसी–भीमगिठे–बागलुङ–मुक्तिनाथ सडकका लागि भन्दै पछिल्लो एक वर्षमा १४ लाख बजेटको अख्तियारी आएको थियो ।

सरकारले सडकको कार्यप्रगतिका आधारमा खर्च गर्नसक्ने गरी रु तीन करोडसम्मको काम गर्न अनुमति दिँदै बहुवर्षीय योजनामा समावेश गरेपछि सडक निर्माणमा सहज भएको डिभिजन कार्यालयले जनाएको छ ।

दाङको कोइलाबासबाट भारत तथा दाङबाट प्यूठान हुँदै बागलुङ–भीमगिठे–म्याग्दी, मुस्ताङ हुँदै चीन जोड्ने त्रिदेशीय सडकका रुपमा प्यूठान–बागलुङ सडकलाई विस्तार गर्न सकिने स्थानीय विकास अधिकारी शिवप्रसाद रेग्मीले बताउनुभयो । “यो सडक त्रिदेशीय सडकका रुपमा प्रयोग गर्न सकिने छोटो र सहज सडक पनि हो ।”

उहाँले भन्नुभयो, “प्यूठान–बागलुङ सडकले लुम्बिनी–स्वर्गद्वारी–गौमुखी–ढोरपाटन र मुक्तिनाथलाई एक अर्कामा जोड्ने छ ।” अहिले प्यूठान र बागलुङको सिमाना आरुबारेसम्म विस्तार हुने गरी सालझन्डी–ढोरपाटन ६ लेनको मध्यपहाडी लोकमार्ग सडक निर्माण भइसकेको छ ।

सालझन्डी–ढोरपाटन मुख्य सडकमा प्यूठानको बागदुलाबाट गएको सडक जोडिएको सडक डिभिजन प्रमुख गौतमले जानकारी दिनुभयो । यो सँगै प्यूठान मध्यपहाडी लोमार्गसँग पनि जोडिएको छ ।

सडक निर्माणबाट राम्रो र जिल्लास्तरीय सडक सञ्जालमा नजोडिएको उत्तरी प्यूठानसँगै बागलुङको पछाडि परेको क्षेत्र दर्लिङ, बोहरागाउँ, राजकोट, देविस्थान लगायतका गाविस प्यूठान–बागलुङ मुख्य सडकमा जोडिने अर्खाका स्थानीयवासी रतिमान पुनले बताउनुभयो ।