४ कार्तिक २०८३, बुधबार

धेरै सभासदलाई पुस्तकालयका बारेमा जानकारी छैन, संसद्को पुस्तकालयमा जम्मा १२ सांसद पुगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

libraryकाठमाडौं, २० साउन । संविधानसभा सचिवालयमा सभासद्हरूका लागि पुस्तकालय स्थापना गरिएको छ । सिंहदरबारस्थित सचिवालयको २ नम्बर भवनमा पुस्तकालय छ ।

पुस्तकालयभित्र १८ महिनायता जम्मा १२ जना सभासद्ले मात्रै पाइला टेकेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

संविधानसभामा ५ सय ९८ जना सभासद्मध्ये ५ सय ८६ जना सभासद्ले पुस्तकालयमा गएर कुनै पुस्तक अध्ययनको कष्ट गरेका छैनन् ।

०४६ मा स्थापित पुस्तकालयमा वार्षिक करिब दुई लाख रुपैयाँका नयाँ पुस्तक खरिद गरेर राख्ने गरिएको छ ।

संविधान, कानुन, राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्रलागयतका करिब १८ हजार शीर्षकका पुस्तक छन् ।

दैनिक ती पुस्तकले सभासद्लाई कुरेका छन् । सचिवालयमा पुस्तकालय छ भन्नेसमेत अधिकांश सभासद्लाई जानकारी छैन ।

‘हाम्रा सभासद्मध्ये कतिलाई पुस्तकालय छ भन्ने नै जानकारीसमेत छैन,’ पुस्तकालयका एक कर्मचारीले भने, ‘जानकारी भए पनि अधिकांश सभासद्ज्यू अध्ययन गर्ने रुचिका भेटिएका छैनन् ।’

कर्मचारीका अनुसार शैक्षिक योग्यता उच्च भएका सभासद् पुस्तकालयमा आक्कलझुक्कल मात्रै छिर्छन्, त्यो पनि पत्रपत्रिका पढ्न मात्र ।

नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाब दिने क्रममा देशभरबाट जनताले सांसदको शैक्षिक योग्यता तोकिनुपर्ने सुझाब दिएका छन् ।

पुस्तकालयमा राखिएको निलो रंगको रेकर्ड फाइलमा ४ मंसिर ०७० यता १२ जना सभासदले पुस्तक लगेको रेकर्ड छ ।

पाँच जना सभासद्ले भने एउटामात्रै पुस्तक लगेका छन् । चार जनाले दुईवटा पुस्तक लगेको रेकर्ड छ ।

कांग्रेसका सभासद रमेश लेखक, गणेश कुमार मण्डल, सञ्जयकुमार गौतम र एमाले सभासद् युवराज ज्ञवाली र विकास लम्साल तथा एमाओवादीका शक्ति बस्नेत, अजय शंकर नायक, सुरेन्द्र प्रसाद जैसवाल र योगेन्द्र तामाङ घिसिङ पुस्तकालयका पुगेका छन् ।

राप्रपा नेपालका सभासद भक्तबहादुर खपाङगी, राप्रपाका आनन्दी पन्त, नेमकिपाका डिल्ली प्रसाद काफ्ले पनि सचिवालयको पुस्तकालय पुगेको रेकर्ड छ ।

सबैभन्दा धेरै पुस्तक लैजानेमा नेमकिपाका सभासद् डिल्लीप्रसाद काफ्ले छन् । काफ्लेले ११ वटा पुस्तक अध्ययनका लागि लगेका छन् ।

काफ्लेले टाकुरामा एक्लो मान्छे, विकास व्यवस्थापन, राम्रो रचना, मिठो नेपाली, कौटिल्यको अर्थशास्त्र, व्रिटिश साम्राज्यमा नेपाली मोहोरा, सार्वजनिक नीति, नेपालको सीमाना, नेपाल, भारत, चीन सन्धी, नेपालमा वर्णव्यवस्था र वर्गसंघर्ष, आर्य खस, वैज्ञानिक गोरेटोमा नामका पुस्तक लगेर अध्ययन गरेका हुन् । ती मध्ये अधिकांश पुस्तक उनले फिर्ता पनि गरिसकेको पुस्तकालयका कर्मचारीको भनाइ छ ।