– नरेन्द्रसिह कार्की
दार्चुला, १९ साउन । अपी नगरपालिका ११ का भुपेन्द्र सिनालले आफूमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा साउन १५ गते ठाडो निवदेन दिए ।
अपी नाम्पा संरक्षण क्षेत्र परिषद् गठनपश्चात विजयी सभामा एमाले जिल्ला कमिटी उपसचिव चरनसिंह बुढाथोकी र दार्चुला बहुमुखी क्याम्पस स्ववियु सभापति रमेशराज भट्टले कुटपीट गरेको भन्दै ठाडो निवेदन दिएका हुन् ।
विजयी सभा चलेको बेला कार्यक्रम स्थलमा आफूमाथि कुटपीट गर्नेमाथि कुनै कार्वाही प्रक्रिया नभएको भन्दै साउन १७ गते पुनः किटानी जाहेरी दिए । तर प्रहरीले मंगलबारसम्म किटानी जाहेरी दर्ता गरेको छैन ।
एमाले, एमाओवादी र नेकपा माओवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका चक्रसिंह ह्यकी निर्वाचित भएपछि संयुक्त आमसभा चलेको थियो । कार्यक्रम स्थलमा सिनालले हो हल्ला गरी कार्यक्रम विथोल्न खोजेको एमाले एमाओवादीको आरोप छ ।
कांग्रेसले सिआइडीको रुपमा कार्यक्रम विथोल्न सिनाललाई पठाएको उनीहरुको आरोप छ । ‘मदिरा सेवन गरी कार्यक्रममा सहभागी भएका महिलाहरु माथि हातपात प्रयास गर्नुको साथै कार्यक्रममा अश्लील शब्दमा गाली गलौज गरेको हो,’ स्ववियु सभापति रमेशराज भट्टले भने । हामीले हातपात गरेका छैनौ, जथाभावी नबोल भनेर बाहिर पठाएका हौ ।’
सिनाल भने ‘आफुले स्वतन्त्र उम्मेदवार जिन्दाबाद’ भन्ने वित्तिकै आफुमाथि कुटपीट भएको मंगलबार पत्रकार सम्मेलनमा बताए । ‘आफ्नो टाउको र शरीरमा चोट लागेको छ, उनले भने, ‘जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि साउन १५ गते राति नै पिथौरागढमा उपचार गराए ।’ ‘आफूमाथि कति जनाले कुटपीट गरे भन्ने थाहा छैन,’ उनले भने ‘शुरुमा दुइजनाले हानेका हुन् ।’
‘आफूमाथि सांघातिक आक्रमण हुँदा समेत प्रहरीले जाहेरी दर्ता गरेको मानेको छैन उनले पत्रकार माझ भने, दलित भएकै कारण आफु पीडित भएको छु । पटक पटक प्रहरीलाई भेट्न समय मागे दिएन, पीडितका दाजु श्याम सिनालले भने, ‘प्रहरीले यसरी विभेद गर्छ भने न्याय माग्न कहाँ जाने ।’
उतातिर एमाले, एमाओवादी र नेकपा माओवादी निकटका महिलाहरुले पनि भुपेन्द्र सिनालको नाममा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिएको छ । सोमबार उनीहरुले सिनालले आफहरुमाथि हातपातको साथै अश्लिल शब्दको प्रयोग गरी गाली गलौच गरेको उनले जाहेरीमा उल्लेख गरेका छन् ।
हिरा अवस्थी, गौरी बडाल, मोहनी अवस्थी, कुन्ती खाती र मञ्जु बमले सिनालको नाममा किटानी जाहेरी दिएका हुन् । सार्वजनिक कार्यक्रममा आफूहरुको अपमान गरेको भन्दै जाहेरी दिएको उनीहरुले बताए ।
दुवै पक्षबाट राजनीतिक रुपमा जाहेरी परेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नैनसिह कार्की भने दुवै जाहेरी दर्ता गर्ने बताउँछन् । उनले भने, ‘मलाई को कुन पार्टीको हो, कुनै मतलब छैन, दुवैको निवेदन दर्ता हुन्छ ।’ अहिलेसम्म कागजी प्रक्रिया मिलाउँदा दर्ता गर्नमा ढिलाइ भएको भन्दै उनले एक दुइ दिनमा मुद्धा दर्ता गर्ने बताए । ‘सरकारी वकिल नभएको अवस्थामा मुद्धा दर्ता गर्न समस्या भएको छ । प्रक्रिया पुगेपछि दुवैको जाहेरी दर्ता हुन्छ,’ उनले भने ।
अपी नाम्पा संरक्षण क्षेत्रको परिषद अध्यक्षको निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवारी ललितसिंह बोहरा पराजित भएका थिए । कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवार चक्रसिंह ह्याकीको विजयी र्याली एमाले, एमाओवादी र नेकपा माओवादी कार्यकर्ताले मनाएका थिए । कुटपिट भएका सिनाल कांग्रेस निकट हुन् ।
















प्रतिक्रिया