– नरेन्द्रसिंह कार्की
दार्चुला, १८ साउन । दार्चुलासँग जोडिएको उकु गाविसको जौलजीवि र भारतको जौलजीवि जोड्ने तुइन सञ्चालनमा भारतीय पक्षले रोक लगाएको छ ।
महाकाली नदीमाथि तुइन सञ्चालन गर्नु अवैध भएको भन्दै रोक लगाएको हो । गत वर्ष जौलजीवि मेला सञ्चालनको लागि अस्थायी रुपमा लगाएको तुइन भारतले गत असार २२ गतेबाट रोक लगाएको हो । भारतले जिल्ला प्रशासन कार्यालय दार्चुला, जिल्ला अधिकारी पिथौरागढ र पुलिस क्षेत्राधिकारी धारचुलालाई तुइन सञ्चालनमा रोक लगाएको बारे पत्राचार गरेको छ ।
भारतले सो क्षेत्रमा महाकाली नदीको बहाव बढ्दै गएको कारण आवत जावत गर्नु खतरा भएको प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुवरलाई पठाएको पत्रमा उल्लेख छ । महाकाली माथि लगाइएको तुइनमा चार जना बस्ने क्षमता छ । तर तुइनको ट्रली तान्नको लागि छ जना मान्छेको आवश्यकता पर्दछ । तुइनमा तारेबाफत स्थानीयले २५ रुपैयाँ लिने गरेका छन् ।

पछिल्लो समय तुइन नै रोक लगाएपछि स्थानीयको आवत जावत ठप्प भएको छ । जौलजीवि नाका भएर दार्चुलाका उकु, लाली, डाडाकोट, हुनैनाथ, खरकडा लगायतका स्थानीय आवत जावत गर्ने गर्छन् । नेपालतिरको सडक अवरुद्ध भएका कारण स्थानीयलाई आवत जावतमै समस्या हुने गरेको उकुका स्थानीय बहादुर चन्दले बताए ।
बाटोकै समस्या कै कारण एक साताअघि उकु ३ डिन्सीका महिलाको ज्यान गयो, चन्दले भने, तुइन भइदिएको भए भारतीय बजारमा उपचार गराउन सकिन्थ्यो । नेपालतिरको सडक सञ्चालन भएको भएपनि स्थानीयलाइ राहत हुने छ । स्थानीय बासीले जिल्ला प्रशासन कार्यालयमार्फत तुइन सञ्चालनको पहल गरिदिन आग्रह गरेको छ ।
स्थानीयले यातायात सञ्चालन गर्न दबाब दिन भन्दै सोमबार उकुको डिन्सीमा महाकाली लोकमार्ग अवरुद्ध गरेका छन् । झण्डै चार घण्टा सडक अवरुद्ध पछि जीप व्यवसायी, स्थानीय र प्रशासन बिच उकु गाविससम्म तत्काल जीप सञ्चालन गर्ने सहमति भएको छ । अवरुद्ध सडकलाई खुलाएर तत्काललाई एक जीप नियमित सञ्चालन गर्ने सहमति भएको हो ।
जौलजीविमा नेपाल भारत जोड्ने झोलुङ्गे पूल निर्माणमा पनि भारतीय पक्षबाट सहयोग नहूँदा ढिलाइ भएको थियो । गत वर्ष नै ठेक्का भएपनि भारतीय पक्षले ठाउँ निश्चित गर्दा ढिलाई भयो । अहिले ठेकेदारहरु जिल्लामा आइसकेको कारण अब छिट्टै पूल निर्माणको काम शुरु हुने प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुवरले बताए ।
















प्रतिक्रिया