४ कार्तिक २०८३, बुधबार

नक्कली खाता खोलेर विद्यालयको १९ लाख ठगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन विद्यालयको नाममा नक्कली खाता खोलेर दुई व्यक्तिले १९ लाख ५० हजार रुपैयाँ ठगी गरेका छन् ।

कालिकोटका बर्मजंग बम र हंशराज भण्डारीले शिक्षा मन्त्रालयबाट विद्यालयको नाममा पठाइएको रकम नक्कली खाता खोलेर आफैँले लिएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनीहरूले आफूलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रिन्सिपल बनाएर एभरेस्ट बैंकमा खाता खोलेका थिए ।

उनीहरूले मन्त्रालयको चेक सोही खातामा जम्मा गरेर पैसा निकालेका हुन् । उनीहरूमध्ये बमलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार पक्राउ गरेको छ ।

कालिकोटको धौलादहस्थित सरस्वती उमाविको नाममा शिक्षा मन्त्रालयबाट १९ लाख ५० हजार रुपैयाँको एसी पेई चेकी जारी भएको थियो ।

उक्त चेकबाट भुक्तानी लिन विद्यालयको नाममा बैंक खाता हुनु जरुरी हुन्छ ।

एसी पेई चेकबाट खातामा जम्मा गरेर मात्र भुक्तानी लिन पाइने भएकाले उनीहरूले आफूहरूलाई नै विद्यालयको अध्यक्ष र प्रिन्सिपल बनाएर एभरेस्ट बैंकको बानेश्वर शाखामा दुईजनाको नाममा संयुक्त खाता खोलेका थिए ।

किर्ते कागजपत्रका आधारमा खाता खोलेपछि विद्यालयलाई थाहा नै नदिई पैसा निकालेका हुन् । पछि विद्यालयमा पैसा नपुगेपछि खोजी सुरु भएको थियो ।

बम र भण्डारीले मन्त्रालयबाट स्कुलको नामको चेक लगेको खुलेपछि उनीहरूमाथि औँला उठेको थियो । पछि दबाबमा उनीहरूले विद्यालयलाई पैसा फिर्ता गरेका थिए ।

राष्ट्र बैंकमा त्यस विषयमा उजुरी परेपछि छानबिन सुरु भएको हो । राष्ट्र बैंकले सिआइबीलाई अनुसन्धानका लागि पत्राचार गरेपछि बमलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

जिल्लामा एभरेस्ट बैंकको खाता नभएको र पैसा निकाल्न विद्यालयका पदाधिकारी काठमाडौं आउँदा धेरै खर्च हुने भएकाले आफूहरूले त्यस्तो काम गरेको बमले बताएका छन् ।

तर, पैसा निकालेपछि विद्यालयका पदाधिकारीलाई जानकारी नदिएकाले उनीहरूको ठग्ने नियत देखिएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।